शिक्षा विधेयक शंसोधनको माग राख्दै ‘निजी विद्यालय’ सञ्चालकद्वारा काठमाडौंमा बस र्‍याली प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । विद्यालय शिक्षा विधेयकबाट पूर्ण ‘छात्रवृत्ति’ र ‘गैरफामूलक’ बनाउने भन्ने शब्द हटाउन माग गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यालय बससहित प्रदर्शन गरेका छन् । सञ्चालकहरूले बिहानैदेखि आफ्ना विद्यालयका बसहरू चक्रपथमा उतारेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले रंगीन ब्यानर, प्लेकार्ड र मागसहित बसमा नाराबाजी गर्दै काठमाडौं चक्रपथ घुमेका थिए। सरकारले विधेयकमा समावेश गरेको पूर्ण छात्रवृत्ति र गैरफामूलक प्रावधानले निजी विद्यालयको अस्तित्वलाई संकटमा पारेको निजी विद्यालय सञ्चालकहरूले बताउँदै आएका छन् ।

सरकारले निजी क्षेत्रलाई निषेध गर्ने प्रावधान राखेर शिक्षामा असमानता बढाउने काम गरेको विद्यालय संचालकहरुले आरोप लगाएका छन् ।

यसै क्रममा, निजी विद्यालय सञ्चालक संगठनहरूले सरकारसँग तत्काल छलफल गरी विधेयक संशोधन गर्न माग गरेका छन्। अन्यथा आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी समेत दिएका छन्।

सरकार शिक्षा सुधारका पक्षमा भए पनि अत्यधिक हस्तक्षेप र असंवैधानिक प्रावधान स्वीकार्य नहुने नीजि विद्यालयका शिक्षकहरुले बताएका छन्। प्रदर्शनका कारण काठमाडौं चक्रपथमा केही समयमा यातायात अवरुद्ध भएको थियो।