अफगानिस्तान भुकम्प अपडेट : ८ सयभन्दा बढीको मृत्यु, हजारौं घाइते

दियोपोस्ट संवाददाता

काबुल । अफगानिस्तानमा गएराति मध्यरात गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। भूकम्पमा हालसम्म ८ सयभन्दा बढीले ज्यान गुमाएको पुष्टि गरिएको छ।

कुनार र नंगरहार प्रान्त केन्द्रबिन्दु बनाएर आएको भुकम्पमा परि करिब दुई हजार पाँच सयभन्दा बढी घाइते भएको स्रोतको जनाएको छ ।

सरकारी अधिकारीका अनुसार कुनारको नुर्गल जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। धेरै गाउँ भत्किँदा उद्धार कार्य अझै कठिन बनेको बताइएको छ। नंगरहार प्रान्तमा पनि सयौं घर भत्किएका छन् र ठूलो संख्यामा मानिस घाइते भएका छन्।

उद्धारका लागि सरकारको तर्फबाट हेलिकोप्टर परिचालन गरिएको छ। घाइतेलाई तत्काल अस्पताल पु¥याउन उद्धार टोली सक्रिय छन्। साथै, अस्पतालमा रक्तदानको व्यवस्था गरिएको छ। चार वटा उद्धार हेलिकोप्टर, स्वास्थ्यकर्मी र सुरक्षा निकाय प्रभावित क्षेत्रमा खटाइएका छन्।

यसैबीच, अफगान रेड क्रेसेन्ट र संयुक्त राष्ट्रसंघ सहितका अन्तर्राष्ट्रिय निकाय उद्धार तथा राहतमा जुटेका छन्। स्थानीय स्वयंसेवक पनि उद्धारमा सक्रिय रहेका छन्। मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने आशंका गरिएको छ।

स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको भन्दै तत्काल राहत सामाग्री र स्वास्थ्य सहयोगको आग्रह गरेका छन्।

सम्बन्धित खबर

सिफारिस