मनाङ उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन अयोगद्वारा आव्हान

दियोपोस्ट संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य, मनाङ क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आव्हान गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ताका लागि निवेदन पेश गर्न सकिने जनाएको हो।

प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदका लागि लागि उप चुनाव गर्न लागिएको हो ।

आयोगका अनुसार दलहरुले कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा निवेदन दिनुपर्नेछ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिम तयार गर्नुपर्नेछ।

निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना,
दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गर्ने प्रतिबद्धता पत्रसमेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।

नयाँ दल बनेका वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८० ८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरणसमेत समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।