
काठमाडौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिद्वारा निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।
पारित विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष लागु हुने प्रावधान राखिएको छ । राष्ट्रिय सभाले पास गरेको विधेयक प्रतिनिधि सभामा पठाउने तयारी छ । उक्त विधेयक प्रतिनिधिसभाले समेत पास गरेर ऐनमा रूपान्तरित भएपछि कर्मचारीको अवकाश उमेर हद लागु हुने बताइएको छ ।
तर, बिधेयक पास भएको वर्ष कर्मचारीको अवकाश उमेर ५८ वर्ष, अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाश हुने ब्यवस्था विधेयकमा गरिएको छ ।
राष्ट्रिय सभाबाट पारित विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ। यसअघि नायब सुब्बा पदका लागि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था रहेको थियो ।
विधायन समितिले निजामती सेवाको सहसचिवको पदपूर्ति १० प्रतिशत खुला, २० प्रतिशत अन्तर तह र ७० प्रतिशत बढुवाबाट हुने प्रावधान अघि सारेको छ ।