
काठमाडौँ । रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा.लेखजङ थापाले आफ्नो बहुबिवाह बारे उठेका प्रश्नको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत डिभोर्ससम्बन्धी कागजात सार्वजनिक गर्दै आरोपहरू आधारहीन भएको दाबी गरे ।
बहुविवाह गरेको आरोप मिथ्या भएको भन्दै उनले जीवनमा दुई पटक विवाह भएको, तीमध्ये पहिलो विवाह कानुनी रूपमा सम्बन्धविच्छेद (डिभोर्स) भइसकेको र सम्बन्धविच्छेद भएको पूर्व–श्रीमतीसँग जन्मेको सन्तान आफैँ रहेको स्पष्ट पारेका छन्।
थापाले फेसबुकमार्फत आफू उमेदवार बनेको खुसी ९६ वर्षीया आमासँग साट्न भैरहवा जाने तयारी भए पनि, काठमाडौँमै निजी जीवनसम्बन्धी प्रश्नहरूको जवाफ दिनुपरेको उल्लेख गरे।
‘मेरो पारिवारिक जीवन न त गैरकानुनी छ, न समस्यापूर्ण।’ हालका आरोपहरू व्यक्तिगत नभएर सुसंस्कृत राजनीति गर्ने रास्वपामाथि नियोजित आक्रमण भएको भन्दै उनले फेसबुकमार्फत त्यसको खण्डन गरेका छन् ।
डा. थापाले सम्बन्धविच्छेदपछि पनि बच्चाको हित र भविष्यलाई केन्द्रमा राख्दै पूर्व-श्रीमतीसँग सौहाद्रपूर्ण सम्बन्धमा रहेर साझा अभिभावकत्व निर्वाह गरिरहेको बताए। यो व्यवस्थाको कारण ‘कसैबाट अनुमति लिनु नपर्ने’ र सम्बन्ध सभ्य राख्नु बालमनोविज्ञानको दृष्टिले आवश्यक भएको तर्क उनको छ।
चिकित्सक जीवनका १४ वर्षमा हजारौँ बालबालिकासँगको कामबाट आफूले यस्तो अवस्थाको मनोवैज्ञानिक असर नजिकबाट देखेको उनले स्मरण गराए।
राजनीतिक पक्षमा, थापाले आफू “नेता बन्न होइन, रूपान्तरणको सहयात्री बन्न” राजनीतिमा आएको बताउँदै, रास्वपाको उम्मेदवार छनोट “३५ दिन लामो बहुआयामिक प्रक्रिया”बाट भएको दाबी गरे।
पार्टीले लिएको कानुनी परामर्शसहित आफ्नो निजी विषयबारे नेतृत्व अवगत रहेको र पार्टीले गर्ने कुनै पनि निर्णयलाई “सहर्ष स्वीकार” गर्ने प्रतिबद्धता समेत दोहोर्याए। रुपन्देही–३ मा “ठूलो राजनीतिक परिवर्तनको संकेत” रहेको दाबी गरेका थापाले, उम्मेदवार केवल आफू नभएर सो क्षेत्रका सचेत नागरिक सबै परिवर्तनका संवाहक भएको अभिव्यक्ति दिए।
थापाले पेशागत जीवन “खुला किताब” रहेकाले निजी आरोपले आफ्नो अभियान विचलित नबनाउने बताए। भैरहवामा हजुरआमाको आशिर्वाद लिन नपाएको प्रसङ्ग कोट्याउँदै उनले, निजी जीवनलाई राजनीतिक हतियार बनाउने प्रवृत्तिको विरोध गरेका छन्।

