बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि ‘बन्दीपुर इन काठमाडौं’ सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौं । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन बन्दीपुर इन काठमाडौ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमणबर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाडौं’ आयोजना गरिएको हो ।

‘बन्दीपुर इन काठमाडौं’ कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमंको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुर नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहर भएको बताए ।

बन्दीपुरको परम्परागत बस्ती र ऐतिहासिक स्वरुपलाई जोगाउन सकिए मात्र बन्दीपुरको वास्तविक आकर्षण कायम रहने अर्थममन्त्री पौडेलले बताए । बन्दीपुरलाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिए यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत बल पु¥याउने मन्त्री पौडेलको भनाई छ ।

कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरको पर्यटकीय सम्भावना र भविष्यका रणनीतिहरु समेटिएको कार्यपत्र प्रस्तुत गरे । उनले बन्दीपुरलाई प्राकृतिक र सांस्कृतिक मिश्रण सहितको अद्वितीय पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

संयोजक प्रधानले आगामी २० वर्षमा बन्दीपुरमा पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन पूर्वाधार, दिगो पर्यटन, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय बजारमा सक्रिय प्रचार–प्रसारलाई जोड दिनुपर्ने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय सरकारको तर्फबाट पुर्वाधार विकासलाई प्राथमिकता दिँदै बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउन निरन्तर पहल गरिने बताए । उनले सडक, खानेपानी, सरसफाइ र पर्यटकमैत्री वातावरण निर्माणका कामलाई तीव्रता दिने उल्लेख गरे ।

क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईकी अध्यक्ष फूलमती थापाले भ्रमण वर्ष २०२५ अन्तर्गत बन्दीपुरले देश–विदेशका पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइन् । बन्दीपुरका होटल व्यवसायी, स्थानीय बासिन्दा र सरोकारवाला निकाय सबै मिलेर बन्दीपुरलाई अझ आकर्षक बनाउन लागिपरेको थापाको भनाई छ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बन्दीपुरलाई पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रको रुपमा प्रस्तुत गर्दै यसको प्रवद्र्धनका लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बन्दीपुरको विकासमा योगदान पु¥याउने बिभिन्न क्षेत्रमा अवद्ध भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमध्ये पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठलाई बन्दीपुर टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियालाई बन्दीपुर हेल्थ लाइफटाइम अचिभमेन्ट अवार्ड, तथा समाजसेवी एवं शिक्षाविद् चिजकुमार श्रेष्ठलाई बन्दीपुर एजुकेशन लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मान गरिएको थियो ।

समुद्र सतहदेखि करिब १,०३० मिटर उचाइमा रहेको बन्दीपुर ऐतिहासिक नेवार बस्ती, परम्परागत घर, साँघुरा गल्ली, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यावलोकनका कारण ‘पहाडकी रानी’ भनेर चिनिन्छ । हिमाल, पहाड, सांस्कृतिक पर्व, गुफा तथा पदयात्रा मार्गका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईको आयोजना, बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा भएको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी, स्थानीय प्रतिनिधि, समाजसेवीले सहभागिता जनाएका थिए ।

सिफारिस