पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ को मृत्यु, १८ घाइते

दियोपोस्ट संवाददाता

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा ऐतिहासिक फ्यूनिक्युलर रेल दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बुधबार साँझ करिब ६ बजे Elevador da Glória नामक रेललाइनमा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार रेल नियन्त्रण बाहिर तीव्र गतिमा अगाडि बढ्दा नजिकैको भवनमा ठोक्किएको बताइएको छ।

प्रत्यक्षदर्शीहरुले रेल ‘कार्डबोर्ड’ जस्तै फुटेको र ठुलो आवाजका साथ ठोक्किएको बताएका छन्। दुर्घटना भएको बेला रेलमा दर्जनौँ स्थानीय तथा विदेशी यात्रु सवार थिए।

दुर्घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिकसमेत छन्। घाइतेमध्ये दुई जना स्पेनिस, दुई जना दक्षिण कोरियाली र एक अष्ट्रेलियाली नागरिक रहेको पुष्टि भएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक बालबालिका पनि उपचाररत छन्।

दुर्घटनापछि उद्धारकर्मीहरूले घण्टौँ प्रयास गरी घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। पोर्चुगल सरकारले बिहीबारलाई राष्ट्रिय शोक दिवस घोषणा गर्दै पीडित परिवारप्रति संवेदना प्रकट गरेको छ।

लिस्बन नगरपालिकाले अन्य सबै फ्यूनिक्युलर र ट्राम सेवाहरू तत्कालका लागि स्थगित गरी विस्तृत प्राविधिक निरीक्षण गर्न आदेश दिएको छ। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा र प्रधानमन्त्री लुइस मोंटेनेग्रोले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै छानबिनलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन्।

युरोपेली संघका उच्च पदाधिकारीदेखि स्पेन, अष्ट्रेलिया लगायतका मुलुकका नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग र समर्थनको आश्वासन दिएका छन्।

सम्बन्धित खबर

सिफारिस