सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघको आपत्ति

दियोपोस्ट संवाददाता  

काठमाडौं । दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी लिएको उक्त कदमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै महासंघले गम्भीर ध्यानाकर्षण गराएको हो।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्नुले केवल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुने उल्लेख छ। यसप्रति सरकारले पर्याप्त संवेदनशीलता नदेखाएकोमा महासंघले आश्चर्य व्यक्त गरेको छ।

“महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ। तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पुग्ने गरी कुनै पनि माध्यम नियन्त्रणलाई स्वीकार गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ।

महासंघले नागरिकको सूचनाको हक र प्रेस स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सरकारसँग जोडदार माग गरेको छ।

 

 

सिफारिस