सामाजिक सञ्जाल बन्दबारे पत्रकार महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूको आपत्ति, आन्दोलनको घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारले फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको कडा विरोध गरेका छन्। शनिबार महासंघका पूर्व अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सामाजिक संजाल बन्दको बिरोध गरेका हुन् ।

विज्ञप्तीमाफर्त उनीहरूले दर्ता नभएको बहानामा गरिएको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात भएको बताएका छन्।

संविधानको धारा १७, १९ र २७ ले प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनीहरूले सरकारले गरेको प्रतिबन्ध अस्वीकार्य भएको स्पष्ट पारेका छन्।

विज्ञप्तीमा भनिएको छ, “सामाजिक सञ्जालमा देखिएका समस्या समाधानका लागि कानुन बनाएर नियमन गर्न सकिन्छ। तर सरकारको अलोकतान्त्रिक कदमले नागरिक स्वतन्त्रता कुण्ठित गरेको छ।”

सामाजिक सञ्जाल बन्दको असर विदेशमा रहेका लाखौं नेपाली र परिवारबीचको सम्पर्क टुट्नुका साथै बालबालिकाको शिक्षा, हजारौंको रोजगारी र व्यवसायमा परेको बताइएको छ।

पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खोल्न माग गर्दै, दीर्घकालीन समाधानका लागि सरोकारवाला निकाय र विज्ञहरूको सहभागितामा कार्यदल गठन गर्न सरकारलाई आह्वान गरेका छन्।

यसैबीच, सरकारलाई दवाव दिन आइतबार दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरिएको छ। सो प्रदर्शनमा सम्पूर्ण प्रेसकर्मी र नागरिक स्वतन्त्रताका पक्षधरहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

सामाजिक संजाल बन्दको बिरोधमा ऐक्यवद्धता जनाउने पूर्व अध्यक्ष तथा पदाधिकारीहरुको नामावली यसप्रकार छ ।

१. तारानाथ दाहाल- पूर्वअध्यक्ष
२. गोविन्द आचार्य – पूर्वअध्यक्ष
३. रमेश विष्ट – पूर्वकार्यवाहक अध्यक्ष
४. खिलबहादुर भण्डारी ( पूर्वउपाध्यक्ष
५. उदय जीएम – पूर्वउपाध्यक्ष
६. रोशन पुरी -पूर्वमहासचिव
७. ध्रुव लम्साल -पूर्वसचिव
८. प्रकाश थापा -पूर्वसचिव
९. पवन आचार्य -पूर्वसचिव
१०. लक्ष्मी पुन -पूर्वसचिव
११. धर्मेन्द्र कर्ण -पूर्वसचिव
१२. लेखनाथ न्यौपाने -पूर्व लेखा समिति संयोजक
१३. विकास कार्की – पूर्वकेन्द्रीय सदस्य
१४. उज्वल आचार्य- पूर्वकेन्द्रीय सदस्य
१५. ध्रुव रावल – पूर्वकेन्द्रीय सदस्य
१६. भीषण राई – पूर्वकेन्द्रीय सदस्य
१७. प्रकाश तिमल्सिना – पूर्वकेन्द्रीय सदस्य
१८. कृति भट्टराई – पूर्वकेन्द्रीय सदस्य
१९. माधव पौडेल – पूर्वकेन्द्रीय सदस्य
२०. अजय फुयाँल – पूर्वकेन्द्रीय सदस्य
२१. माधव दुलाल – पूर्वकेन्द्रीय सदस्य
२२. दीपेन्द्र कुँवर – पूर्वकेन्द्रीय सदस्य