काठमाडौं । पत्रकारहरूले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुले आज माइतीघर मण्डलामा प्रतिबन्धको बिरोध गरेका हुन् ।
पत्रकार महासंघ पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खोल्न माग गर्दै, दीर्घकालीन समाधानका लागि सरोकारवाला निकाय र विज्ञहरूको सहभागितामा कार्यदल गठन गर्न सरकारलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल बन्दको असर विदेशमा रहेका लाखौं नेपाली र परिवारबीचको सम्पर्क टुट्नुका साथै बालबालिकाको शिक्षा, हजारौंको रोजगारी र व्यवसायमा परेको भन्दै पत्रकारहरुले तत्काल सामाजिक सञ्जाल खोल्न आग्रह गरे ।
युटुव लगायत सामाजिक सञ्जाल बन्द हुँदा कैयौँ युटुवरको पेशा खोसिएको, युटुवबाट पढाई गर्ने बालबालिकालाई समस्या भएको पत्रकारहरुले बताएका छन् । सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको पत्रकारहरुले बताए ।





