संविधानको मर्म अनुरुप अन्तरिम सरकार गठन गर्न नागरिक समाजको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली नागरिक समाजले संविधानको मर्मअनुसार अन्तरिम सरकार गठन गर्न माग गरेको छ। हाल देखिएको राजनीतिक अस्थिरता र प्रतिक्रान्तिकारी गतिविधिलाई रोक्न संविधानमै अडिग रही अघि बढ्नुपर्ने धारणा नागरिक समाजले सार्वजनिक गरेको हो।

जेनजी युवाहरुको आन्दोलन पछि भइरहेको गतिविधिलाई प्रतिक्रान्तिको प्रयास भन्दै नागरिक समाजले कडा आपत्ति जनाएका छन्। नागरिक समाजका प्रतिनिधिहरूले भने, “जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई बेवास्ता गरेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र पुनःस्थापना गर्ने वा धर्मनिरपेक्षता हटाउने षड्यन्त्र स्वीकार्य हुने छैन।”

सामाजिक अभियन्ताहरूले सेनाको असंवैधानिक सक्रियता अस्वीकार्य रहेको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन्। उनीहरूले सेनाले प्रतिक्रान्तिकारीहरूसँग भइरहेको अन्तरक्रिया तत्काल बन्द गरी राष्ट्रपतिको अभिभावकत्वमा मात्र आगामी छलफल अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

नागरिक समाजका वक्ताहरूले नयाँ बन्ने सरकार संविधान २०७२ को आधारमा मात्र अघि बढ्नुपर्ने र भ्रष्टाचार तथा बेथितिविरुद्ध निरन्तर सतर्कता आवश्यक रहेको बताएका छन्। साथै, प्रतिक्रान्तिकारी शक्तिलाई आगामी सरकारमा कुनै स्थान नदिन आग्रह गरिएको छ।

“जेनजी आन्दोलनले उठाएका लोकतान्त्रिक मूल्य र शहीदको बलिदानलाई संरक्षण गर्नु आजको आवश्यकता हो,” विज्ञप्तिमा उल्लेख छ, “संविधान र जनआन्दोलनको मर्मअनुरूप मात्र अन्तरिम सरकार गठन हुनुपर्छ,” उनीहरुले भनेका छन् ।