काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न राजनीतिक अस्थिरताले मुलुकभर लामो तथा छोटो दुरीका यातायात सेवा पूर्ण रूपमा ठप्प भएका छन्।
आन्दोलनकै कारण राजमार्गदेखि सहरी सडकसम्म सवारी आवागमन रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। हिन्दु नेपालीको प्रमुख चाड दसैँ आउन अब एक साताभन्दा कम समय बाँकी रहँदा यातायात ठप्प हुँदा यात्रुहरू थप सास्तीमा परेका छन्। देशव्यापी आन्दोलनका क्रममा उपत्यकासहित विभिन्न स्थानका यातायात कार्यालय र सवारीसाधनमा क्षति पुगेको छ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार लामो दुरीका बस र मालवाहक सवारी सञ्चालनमा रोकिएको छ भने सहरी क्षेत्रमा टेम्पो, मिनिबस र माइक्रोबस नचल्दा जनजीवन प्रभावित भएको छ। उनका अनुसार व्यवसायीहरूले मनोमानी रूपमा सवारी चलाउन नसक्ने र सम्बन्धित निकायको अनुमति प्राप्त भएपछि मात्र सेवामा फर्किने स्पष्ट पारेका छन्।
“केही निजी सवारीसाधन चलेको सुनेको छु तर हाम्रो मातहतका कुनै पनि सार्वजनिक सवारी सञ्चालनमा छैनन्। हामीलाई सम्बन्धित निकायले निर्देशन दिए लगत्तै गाडी पठाउन तयार छौँ,” उनले आर्थिक भ्वाइससँग भने।
सिटौलाले यात्रुहरू निसास्सिएको अवस्थाबारे आफूहरू सजग रहेको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। उनका अनुसार सुरक्षा व्यवस्था र बाटोको सहज व्यवस्थापन सुनिश्चित भएपछिमात्र यातायात पुनः सञ्चालनमा आउने जनाएका छन् ।