बिभिन्न ८ दलका प्रमुख सचेतकद्वारा प्रतिनिधि सभा विघटनको बिरोध

दियोपोस्ट संवाददाता

काठमाडौँ । बिभिन्न ८ प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुले प्रतिनिधि सभा विघटनको बिरोध गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत ८ दलका प्रमुख सचेतकद्वारा शनिवार जारी विज्ञप्तीमा संसद बिघटन प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण र असहमति रहेको बताएका छन् ।

उनीहरूले संविधान र कानूनी व्यवस्थालाई बेवास्ता गरी अलोकतान्त्रिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र संसद विघटन गर्ने कदम चाल्नु लोकतन्त्रको मर्म विपरीत भएको बताएका छन् ।

संयुक्त विज्ञप्तिमा लोकतान्त्रिक राज्यमा सबै समस्या संविधान र कानूनी व्यवस्थाअनुसार समाधान हुनुपर्ने भन्दै, प्रतिनिधि सभाको विघटन जनमत, संवैधानिक सर्वोच्चता र विधि शासनमाथिको प्रहार भएको ठहर गरिएको छ।

संसद बिगठन संविधानको धारा ७६ को उपधारा (७) र सर्वोच्च अदालतका नजीर तथा संवैधानिक परम्पराको समेत विपरीत भएको भन्दै उनीहरूले सो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

उनीहरूले प्रतिनिधि सभा विघटनको निर्णय खारेज गरी संसद बैठक तत्काल बोलाउन र जनताका माग संसदमार्फत सम्बोधन हुने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायलाई जोडदार आग्रह गरेका छन्।

उनीहरुले भदौ २३ र २४ गते जेन जी समूहको आन्दोलनका क्रममा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।