रवी लामिछानेद्वारा कारागार फर्कने घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेले आफू फेरि कारागारमा फर्कने निर्णय गरेको बताएका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै आफु पूनः कारागार फर्किन लागेको बताएका हुन् ।

लामिछानेले पछिल्लो सरकारले आफूप्रति राजनीतिक प्रतिशोध र दमनको शैली अपनाएको आरोप लगाउँदै आफ्नो जन्मदिनको दिनमै कारागार फर्किन लागेको उल्लेख गरे ।

अब नयाँ सरकारप्रति आशा राखेर स्वेच्छाले कारागार जान लागेको भन्दै उनले शासन प्रशासन र न्यायप्रणालीको अपवित्रिकरण विरुद्ध आफू पछिल्ला ३० वर्षदेखि प्रतिवद्ध रहेकाले भाग्यलाई स्वीकार गरी कारागार जान तयार रहेको जनाए।

उनले आफूमाथि विभिन्न जिल्लामा मुद्दा लगाइए, सहकारी साइनो नभएको व्यक्तिलाई संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणजस्ता ठूला आरोप लगाइएको प्रसंग उठाएका छन् र अब उक्त विषय नयाँ सरकारको विवेकमा छोड्न चाहिएको बताए।

लामिछानेले आफूलाई जेलबाट निकाल्दा प्रयोग भएको चिठीको वैधानिकताका बारेमा आएको प्रश्नावलीले कुनै कर्मचारी वा सचिवलाई अप्ठ्यारोमा पार्न नचाहने स्पष्ट पारेका छन्। उनले भनेका छन्—“मेरो कारण कुनै एउटा जेलर एउटा गृहसचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, म जिम्मा लिन्छु।”

त्यसैगरी उनले आफ्नो बदनाम गर्ने प्रयास र सामाजिक सञ्जालमा देखिएका विरोधी गतिविधिहरूप्रति दुःख व्यक्त गर्दै पुराना राजनीतिक दलका केही नेतृत्वलाई समेत निशाना बनाएका छन्।

उनले आफ्नै पार्टीभित्रका साथीप्रति कुनै गुनासो नभएको र सबैको स्वतन्त्रताको सम्मान गर्ने उल्लेख पनि गरेका छन्। लामिछानेले नयाँ सरकार र देशका लागि केही प्रतिवद्धता र मागसमेत सार्वजनिक गरेका छन् ।

२०४६ सालपछि रहेका नीतिगत निर्णय र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन, सबै निकायमा गरिएका राजनीतिक नियुक्तिहरू एकै निर्णयबाट रद्द गरिनुपर्ने, कर्मचारीदेखि न्यायालयसम्म पुनर्नियुक्तिको बाटो खोल्नु पर्ने र उपर्युक्त पदाधिकारीहरूले जाँच दिनु पर्ने, विश्वविद्यालयहरूमा भएका राजनीतिक नियुक्तिहरू खारेज गरी मेरिटोक्रेसी स्थापना गर्नुपर्ने र राजदूतहरूको नियुक्तिमा पनि यही प्रविधि लागू गर्नुपर्ने बताएका छन् ।

फेसबुक स्टाटसमार्फत लामिछानेले दमन र हिंसाका घटनाहरूको छानबिन हुनुपर्ने जोड दिएका छन् । उनले भनेका छन्, ‘निकै घातक–वाहक घटनाहरू बच्चाहरूलाई लक्षित गरेर गोली प्रहार हुने जस्ता घटनाहरू तथा सरकारी संरचनामा क्षति पुर्‍याउने घटनाहरूको प्रारम्भिक र दोस्रो दिनको दुवै चरणको छानबिन हुनुपर्छ र जिम्मेवार व्यक्तिहरू तत्काल कारबाहीको दायरामा आउनुपर्छ।’

उनले नयाँ सरकार सही बाटोमा अघि बढ्ने बिस्वास लिएको बताए । त्यही अनुरुप उनले जनस्तरबाट दबाब बनाएर सरकारलाई सहयोग गर्ने योजना रहेको उल्लेख गरे।

लामिछानेले पुराना दलहरूप्रति प्रतिशोधको भावना नलिन आग्रह गर्दै स्वस्थ चुनावी प्रतिस्पर्धाबाट सबैलाई पराजित गर्ने सन्देश दिएका छन् र सबै नयाँ राजनीतिक पंक्तिहरूलाई समन्वय गरेर राष्ट्र पुनर्निर्माणमा श्रमदान गर्न आह्वान गरे।

लामिछानेले आफ्नो स्टाटसमा पार्टी कब्जा गर्न होइन पार्टी बनाउने लक्ष्यमा सबैलाई सँगै आउन आग्रह गरेकाले यो घोषणापछि राजनीतिक वृतमा प्रतिक्रिया र छलफल थप बढ्ने अनुमान गरिएको छ।