
काठमाडौं । अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ लिएलगत्तै सुशिला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाएको छ । सरकार गठनसँगै सानो आकारको मन्त्रिपरिषद् बन्ने तयारी भएको हो ।
हालै सम्पन्न जेन-जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारलाई छोटो समयमै सक्षम र जनप्रतिनिधित्व हुने टीमसहित अघि बढाउने दबाब बढेको छ ।
यसअन्तर्गत नयाँ पुस्ता तथा प्राविधिक ज्ञान भएका व्यक्तिलाई जिम्मेवारी दिने चर्चा छ । हालसम्म सार्वजनिक चर्चामा आएका सम्भावित मन्त्रीहरूमा कुलमान घिसिङलाई मन्त्री बनाउने लागिएको चर्चा छ ।
तत्कालिन विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य गरी जनस्तरमा ठूलो लोकप्रियता कमाएका कारण उनलाई ऊर्जा वा पूर्वाधारसम्बन्धी जिम्मेवारी दिन सकिने बताइएको छ । तर घिसिङ मन्त्री बन्ने विषयमा चर्चा चले पनि अझै आधिकारिक निर्णय भएको छैन ।
त्यस्तै, कानुनविद् ओमप्रकाश अर्याल, जेनजी आन्दोलनसँग प्रत्यक्ष सम्बन्धित युवा नेताहरू सागर ढकाल र भूपेन्द्र खड्का पनि मन्त्रि परिषदमा समावेश हुने सम्भावित नामका रूपमा चर्चामा छन् । नेपाली सेनासँग निकट व्यक्तिहरूलाई समेत मन्त्रिपरिषद्मा स्थान दिने तयारी भएको उल्लेख छ, तर त्यसबारे ठोस जानकारी सार्वजनिक भइसकेको छैन ।
मन्त्री छनोट प्रक्रियामा जेनजी युवाहरूले सक्रिय सहभागिता जनाइरहेका छन् । उनीहरूले भर्चुअल भोटिङमार्फत् प्रस्तावित मन्त्रीहरूको मूल्यांकन गर्ने तयारी गरेका छन् । यसलाई अन्तरिम सरकारले नयाँ अभ्यासका रूपमा अघि बढाउने संकेत मिलेको छ ।
रक्षा मन्त्रालयमा सेनासँग निकट केही व्यक्तिहरूलाई जिम्मेवारी दिन सक्ने बताइए पनि तर नाम सार्वजनिक भएको छैन।
अर्थ मन्त्रालयमा प्राविधिक दक्षता भएका अर्थशास्त्री वा निजी क्षेत्रसँग नजिकका व्यक्तिहरूको नाममात्रै छलफलमा, तर ठोस टुङ्गो नलागेको बताइएको छ