
काठमाडौं । जेनजी युवाहरुको नाममा भदौ २४ गते भएको विध्वंसात्मक आगजनीमा आफ्नो पार्टीको संलग्नता नभएको माओवादी केन्द्रले प्रष्ट पारेको छ । माओवादी केन्द्रले आइतबार एक विज्ञप्ती जारी गर्दै आफ्नो आगजनीका कार्यमा आफ्नो संलग्नता नभएको बताएको हो ।
पार्टी प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विजज्ञप्तीमा जनआन्दोलनमा घुसेका प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्त्वहरूले विध्वंस र वितण्डा मच्चाएको भन्दै नेकपा माओवादी केन्द्रले कडा शब्दमा विरोध गरिएको छ ।
विज्ञप्तीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक अपिलमार्फत स्पष्ट गरेअनुसार आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल पार्ने गतिविधि प्रति भ्रत्सर्ना गरिएको छ ।
माओवादी केन्द्रका अनुसार पार्टीका कार्यालय, अध्यक्ष प्रचण्डसहित दर्जनौं नेता–कार्यकर्ता तथा परिवारका घर र सम्पत्तिमा आगजनी र तोडफोड भएका छन् ।
“यस्ता घटनामा हाम्रो पार्टीसँग सम्बन्धित कसैको संलग्नता देखिए कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,” विज्ञप्तिमा भनिएको छ ।
यस्ता घटनामा माओवादी कार्यकर्ताको संलग्नता भएको भनी गरिएको प्रचारप्रति पार्टीले गम्भीर आपत्ति जनाएको विज्ञप्तीमा उल्लेख छ । पार्टीले यसलाई आधारहीन हल्ला र आन्दोलन कमजोर पार्ने दुष्प्रचारको प्रयास भन्दै आम जनसमुदायलाई भ्रममा नपर्न आह्वान गरेको छ ।
