जेनजी आन्दोलनका क्रममा जले सिंहदरबार परिसरका १ हजार ४२ सवारी साधन

दियोपोस्ट संवाददाता

काठमाडौँ । गत भदौ २४ गते जेनजी युवाहरुको प्रदर्शनका क्रममा सिंहदरबार र आसपासमा १ हजार ४२ वटा सवारी साधन जलेर नष्ट भएका छन् । आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।

विभिन्न सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ साना–ठूला सवारी र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ।

अर्थमन्त्रालयको ३६ वटा चार पाङ्ग्रे र ५४ वटा दुई दुईपांग्रे, गृहमन्त्रालयको २५ वटा चार दुईपांग्रे र ३० वटा दुई दुईपांग्रेमा क्षति पुगेको छ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९ साना–ठूला सवारी साधन र ३९ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३२ साना गाडी, दुई ठूला बस, ३९ मोटरसाइकल एवम् स्कुटरमा आगजनी भएको छ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

जलेका गाडीहरु अहिले पनि सरकारी कार्यालय परिसरमा देखिन्छन् ।