भारतको हिमाञ्चलमा जिप दुर्घटना, ४ नेपालीको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । भारतको हिमाञ्जल प्रदेशस्थित सिमला कोटखाईमा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका वडा नं.४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

चालकले नियन्त्रण गुमाउँदा जिप भीरमा खसेको बताइएको छ । घाइते दुई को कोटखाई स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।