
काठमाडौँ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयमार्फत उनले बुधबार आफ्नो राजीनामा बुझाएका हुन्।
पाठकले राजीनामा पत्रमा गत भाद्र २३ गते सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा सुरक्षाकर्मीको अस्वाभाविक बल प्रयोगका कारण नागरिकले सहादत प्राप्त गरेपछि आफू अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन्। त्यतिबेलै सामाजिक सञ्जालमार्फत पद त्याग गर्ने घोषणा गरे पनि प्राविधिक कारणले औपचारिक प्रक्रिया तत्काल पूरा गर्न नसकेको उनले पत्रमार्फत स्पष्ट पारेका छन्।
उनका अनुसार राष्ट्र रोइरहेको बेला जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित भएको निष्कर्षमा पुगेपछि संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम राजीनामा दिएको बताए।
सभामुख पाठकको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयलाई अवगत गराइएको छ। अब बागमती प्रदेश सभामा नयाँ सभामुख चयन गर्ने प्रक्रियाबारे छलफल हुने अपेक्षा गरिएको छ।