अन्तरिम सरकारका तीन मन्त्रीले गरे भग्न संसद भवनको अवलोकन

दियोपोस्ट संवाददाता

 

काठमाडौँ । अन्तरिम सरकारका तीन जना मन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलाइएको संसद भवन अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले आज भग्न संसद् भवनको अवलोकन गरेका हुन् ।

मन्त्रीहरूले आगलागीका कारण भएको क्षति प्रत्यक्ष निरीक्षण गर्दै पुनर्निर्माण र मर्मतका लागि आवश्यक कदम तत्काल चालिने बताएका छन्।

मन्त्रीहरूले भवनको भौतिक संरचना मात्र नभई त्यहाँ रहेका महत्वपूर्ण अभिलेख, कागजात र सामग्रीमा भएको क्षतिको समेत जानकारी लिएका छन्।

यसैबीच, प्रभावित भवनको सुरक्षालाई अझ कडा पारिएको छ। सुरक्षाकर्मीहरूको संख्या बढाइएकाले अनधिकृत प्रवेश रोकिएको छ। साथै, संसद भवनलाई यथाशीघ्र प्रयोगमा ल्याउन प्राविधिक टोली खटाइएको र क्षतिको विस्तृत विवरण तयार पार्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

अन्तरिम सरकारका तर्फबाट आज गरिएको अवलोकनलाई संसद भवन पुनर्निर्माणको पहिलो कदमका रूपमा लिइएको छ ।