सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, नेप्से १३३ अंकले घटेर २ हजार ५३८ मा

दियोपोस्ट संवाददाता

काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो ।

योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३ अंक घटेर २५३८ मा कायम भएको छ । दुई पुनर्बीमा कम्पनी सामेल भएको अन्य समूह सबैभन्दा धेरै ८.९ प्रतिशत घटेको छ । बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।