काठमाडौं । भदौ २३ गते सरकारले जेन जी उमेर समुहका युवाहरुको प्रदर्शनमा चरम दमन गरेर ७० जनाको हत्या भइसकेको छ । यो आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेर सैनिक हेलिकोप्टरबाट भाग्नु परेको थियो । शिर्ष नेताहरु निवास छोडेर भागेका थिए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थासहित, संविधान संशोधन र आर्थिक समानताको माग राखेर शुरु भएको यो आन्दोलनले नेपालको सत्ता राजनीतिको मार्गचित्र नै परिवर्तन गरिदिएको छ । तर, यो आन्दोलनबाट फाइदा लिनका लागि एउटा समुहले भने भंसार र सीडियोमा समेत आफ्नो भागमा पाउनुपर्ने माग राखेर गृहमन्त्रालय पुगेको छ ।
पूर्व डिएसपी गोविन्द पन्थीको संयोजनमा गृहमन्त्रालय पुगेको यो समुहले नयाँ पुस्ताको बद्नाम गर्ने उद्देश्यले गृहमन्त्रीसमक्ष माग गरेको छ । नेकपा एमाले निकट अखिल क्रान्तिकारीकी विद्यार्थी नेतृ समेत रहेकी जस्मिन ओझाको नेतृत्वमा सिंहदरबारस्थित गृहमन्त्रालय पुगेको यो समुहमा पूर्वडिएसपी गोविन्द पन्थी पनि छन् । त्यस्तै पूर्वखानेपानी मन्त्री विना मगरको किर्ते हस्ताक्षर गरेको अभियोगमा पक्राउ परेका सञ्जिव दाहाल पनि जेनजी समुहको प्रतिनिधित्व गर्दै गृहमन्त्रीलाई भेट्न पुगेका थिए ।
गृहमन्त्रालय स्रोतका अनुसार उनीहरु सक्कली जिएनजीको नाममा सिंहदरबार पुगेका थिए । ‘हामीले शुरुमा सक्कली जिएनजी भनेर कुरा सुन्ने कोशिस गरेका थियौँ । तर, पछि थाहा भयो उहाँहरु त नक्कली जिएनजी रहेछ,’ गृहमन्त्रालय स्रोतले भन्यो,‘किर्ते अभियोगमा पक्राउ परेका व्यक्ति समेत जेनजी बनेर गृहमन्त्रालय आएका थिए ।’