काठमाडौं । दियोपोस्ट डटकम र प्रेस काउन्सिल नेपालबीचको विवाद उच्च अदालत पाटनमा विचाराधिन अवस्थामा छ । गत वैशाख ३ गते सुनुवाई भएको यो मुद्दामा उच्च अदालत पाटनले प्रेस काउन्सिलसँग कालोसूचिमा राख्ने निर्णयको सक्कल फाइल नै झिकाउन आदेश दिएको छ । आगामी हप्ता यो मुद्दामा पुन सुनुवाई हुँदैछ । तर, ‘प्रेस काउन्सिल नेपालको कर्मचारी हुँ’ भन्दै एक व्यक्तिले केही विज्ञापनदाताहरुलाई आतंक मच्चाएको पाइएको छ ।
आफूलाई प्रेस काउन्सिल नेपालको कर्मचारी बताउने ती व्यक्तिले ९८५१०९९०२४ बाट पटक पटक फोन गर्दै ‘म प्रेस काउन्सिल नेपालको कर्मचारी हुँ । हामीले दियोपोस्टलाई कालोसूचिमा राखेका छौँ । तपाईंले किन विज्ञापन दिएको’ भन्दै धम्काउने गरेको केही विज्ञापनदाताहरुले दियोपोस्टलाई बताएका हुन् ।
ती व्यक्तिले ह्वाट्सएपमा दियोपोस्टलाई कालोसूचिमा राख्ने निर्णय भएको वक्तव्य समेत पठाउने गरेको पाइएको छ । ‘दियोपोस्टमा प्रकाशित विज्ञापनको स्क्रिनसर्ट र कालोसूचिमा राख्ने निर्णयसहितका वक्तव्य देखाएर धम्की दिए,’ ती विज्ञापनदाताले भने,‘विज्ञापन किन दिएको ? म काउन्सिलको कर्मचारी हुँ भनेर धम्की दिए ।’

विज्ञापनदाताहरुलाई धम्की दिने मोबाइल नम्बर ९८५१०९९०२४ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिको नाम सञ्जिव दाहाल रहेको बुझिएको छ । यसरी फोन गर्ने यी दाहाल यसअघि तत्कालिन खानेपानी मन्त्री बिना मगरको किर्ते हस्ताक्षर गरेको अभियोगमा पक्राउ परेका अभियुक्त हुन् । उनले मगरको हस्ताक्षर किर्ते गरि सिम निकाल्दै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त दरबारमार्गले पक्राउ गरेको थियो । उनी विश्वखबर डटकम नामक एक अनलाइनको संचालक समेत रहेको खुलेको छ ।

उनीसँगको सम्वाद जस्ताको तस्तै :
दियोपोस्ट डटकम : तपाईंले प्रेस काउन्सिलको कर्मचारी बनेर दियोपोस्ट डटकमको विज्ञापनदाताहरुलाई धम्काउनु भएको रहेछ नी ?
सञ्जिव दाहाल : कसलाई धम्कायो । मलाई थाहा भएन ।
दियोपोस्ट : कसलाई धम्काउनु भयो भन्ने सबै प्रमाण आएको छ । तपाईंको विषयमा प्रेस काउन्सिलमा सोधिखोजी गर्दा तपाईं कर्मचारी भएको देखिएन । करारमा नियुक्त हुनु भएको छ कि ?
दाहाल : हेलो । प्रेस काउन्सिलमा यसरी ब्लाकलिस्टमा परेको रच भन्न चाहीँ पाइएन । तपाईंहरुको के क्लिनचिट छ ? मलाई देखाउनुस् त काउन्सिलको उ ।
दियोपोस्ट : हामीले तपाईंलाई देखाउने होइन अदालतमा गएका छौँ ?
दाहाल : अदालतबाट क्लिनचिट ल्याउनुस् न । देखाउनुस् त को हो भनेर ।
दियोपोस्ट : तपाईंले प्रेस काउन्सिलको कर्मचारी हुँ भनेर किन फोन गर्नुभयो विज्ञापनदाताहरुलाई ?
दाहाल : देखाउनुस् त को हो भनेर । कर्मचारीले मलाई, त्यहाँको अध्यक्षले नै मलाई कुन—कुन ब्लयाकलिस्टेड छन् भन्दाखेरी दियोपोस्टपनि छन् भन्याछन् ।
दियोपोस्ट : अध्यक्ष भनेको हो ?
दाहाल : प्रेस काउन्सिलको अध्यक्ष को छन् ?
दियोपोस्ट : भन्नाले प्रेस काउन्सिलकै अध्यक्षले अह्राएर तपाईंले फोन गर्नुभएको हो र ?
दाहाल : तपाईंले रेकर्ड गरिरहेको छ । मेरो अनुमति विना रेकर्ड गर्दै हुनुहुन्छ ।
दियोपोस्ट : समाचार प्रयोजनका लागि नै फोन गरेको हो । तपाईंको प्रतिक्रियाका लागि गरेको हो ।
दाहाल : जे पायो त्यही बोल्ने यार । प्रेस काउन्सिलको अध्यक्षले ब्लयाकलिस्टमा कुन कुन छ भन्न पाइँदैन ।
दियोपोस्ट : भन्नाले अध्यक्षले नै भनेअनुसार गर्नुभएको हो ?
दाहाल : अध्यक्षलाई सोध्दा पनि भो ।
दियोपोस्ट : कालोसूचिमा राख्ने निर्णयबारे हामीले नै सार्वजनिक गरेका छौँ । यो विषयमा मुद्दा पनि लडिरहेका छौँ ।
दाहाल : म पनि मिडिया चलाएको हो । समाचार बनायौ भने हामी पनि त्यसको प्रतिवाद गर्छौं ।
प्रेस काउन्सिल भन्छ,‘सञ्जिव दाहाल नाम गरेको कुनै कर्मचारी छैन’
यता प्रेस काउन्सिल नेपालले सञ्जिव दाहाल नाम गरेको कुनैपनि व्यक्ति काउन्सिलको कर्मचारी नरहेको बताएको छ । काउन्सिलका सुचना अधिकारी तथा सहप्रवक्ता रामशरण बोहरालाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले यस्तो बताएका हुन् । ‘सञ्जिव कुमार दाहाल नाम गरेको कुनैपनि कर्मचारी छैन । त्यस्तो मान्छेलाई अरु कारबाही गर्नुपर्यो । गम्भिर कुरा आयो । ओ हो !,’ बोहराले भने,‘त्यसलाई हाम्रो मेलमा पनि पठाइदिनु होला । यो एउटा कम्प्लेनको रुपमा पनि आओस् ।
के हो काउन्सिल र दियोपोस्ट विवाद ?
गत मंसिर २७ गते दियोपोस्ट डटकमलाई प्रेस काउन्सिल नेपालले कालोसूचिमा राख्ने निर्णय गरेको थियो । उक्त निर्णय गैरकानुनी रहेको भन्दै दियोपोस्टले गत पुस ५ गते उच्च अदालत पाटनमा रिट निवेदन दिएको थियो । काउन्सिलले आफूले गरेको कारबाही कानुनसम्मत रहेको भन्दै अदालतमा आफ्नो लिखित जवाफ मार्फत जिकिर गरिरहेको छ । आगामी हप्ता यो मुद्दामा फेरी सुनुवाई हुँदैछ ।
दियोपोस्ट र प्रेस काउन्सिल विवादबारे मिडिया कुराकानीमा प्रकाशित लिंक अध्ययन गरेर थप बुझ्न सक्नुहुनेछ ।