काठमाडौँ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ११ औँ संविधान दिवसका अवसरमा नेपालीलाई शुभकामना दिएका छन् । रुबियोले शुभकामना संदेशमार्फत अमेरिकी सरकारको तर्फबाट नेपाली जनतालाई बधाई ज्ञापन गरेका हुन्।
उनले नेपालको संविधानअनुसार पारदर्शी र उत्तरदायी सरकारप्रतिको नेपाली जनताको आकांक्षालाई अमेरिका समर्थन गर्ने उल्लेख गर्दै आगामी फागुनमा हुन लागेका निर्वाचनका तयारीमा लोकतान्त्रिक समाधान अपरिहार्य हुने बताएका छन्।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरुको प्रति संवेदना व्यक्त गर्दै रुबियोले मृतक र घाइतेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनले नेपाली जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने र सबैका लागि समृद्ध भविष्य निर्माण गर्न हकदार रहेको पनि जोड दिएका छन्।
उनका अनुसार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी) कम्प्याक्टले नेपालमा यातायात तथा ऊर्जा पूर्वाधार विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बिस्वास गरे । साथै यसले अमेरिका-नेपाल साझेदारीलाई अझ सुदृढ गर्दै अमेरिकी कम्पनीहरूका लागि व्यापारिक अवसरहरू पनि सिर्जना गर्ने उनको भनाइ छ।
यसै अवसरमा रुबियोले नेपालसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै दक्षिण एसियामा स्थिरता प्रवर्द्धन र विश्वलाई सुरक्षित बनाउन अमेरिकाको साथ रहने विश्वास दिलाएका छन्।