
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले संविधानको मर्म आत्मसाथ गर्दै जनआकांक्षा अनुसार काम गर्ने बताएकी छन् । शुक्रबार सैनिक मञ्च, टुँडिखेलमा आयोजित संविधान दिवस विशेष कार्यक्रममा संवोधन गर्दै प्धानमन्त्री कार्कीले संविधान दिवसलाई केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिनका रूपमा व्याख्या गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “संविधान नेपाली जनताले अनेक आन्दोलन, संघर्ष र बलिदानबाट प्राप्त गरेको दस्तावेज हो। यसको अक्षर स्थिर हुन सक्छ तर यसको मर्म र प्राण सधैं जीवन्त रहनुपर्छ।”
प्रधानमन्त्री कार्कीले हालैको “जेनजी आन्दोलन” लाई युवापुस्ताको चेतनाको अभिव्यक्ति र भ्रष्टाचारविरुद्धको सशक्त सन्देशका रूपमा लिँदै सरकार जनआकांक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले भनिन्, “लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो। सरकारले यही बाटो अवलम्बन गरेर अघि बढ्छ।”
उनले छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने सरकारको योजना रहेको दोहोर्याइन्। साथै, सुशासन, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र समावेशी विकासका लागि सबै समुदाय र पुस्तासँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले संविधान कार्यान्वयनको एक दशकपछि उपलब्धिहरु र चुनौती दुबै रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाह, समानता र प्रविधिको उपयोगमा अझ सुधार आवश्यक रहेको बताइन्। “असन्तोषलाई बेवास्ता नगरी समाधानतर्फ उन्मुख भई अघि बढ्नु नै वर्तमान सरकारको दायित्व हो,” उनले जोड दिइन्।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
यसपटक राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै परम्परागत झाँकी र सांस्कृतिक प्रस्तुतिहरु स्थगित गरिएको थियो । तर पनि सुरक्षाकर्मीहरुको मार्सपास तथा औपचारिक सभामार्फत संविधान दिवसको औचित्यलाई स्मरण गरिएको थियो।