सिंहदरबारमा सरसफाई र रंगरोगन कार्य सुरु (तस्बिर)

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारको मर्मत, सरसफाई र रंगरोगन कार्य तीव्र गतिमा सुरु भएको छ। ऐतिहासिक र प्रशासनिक दृष्टिले महत्वपूर्ण मानिने सिंहदरबारलाई तत्काल पूर्ववत् अवस्थामा ल्याउन सरकार र सम्बन्धित निकाय सक्रिय भएका छन्।

सिंहदरबार व्यवस्थापन तथा मर्मतसम्भार कार्यालयका अनुसार, आगलागीबाट भत्किएका भागको अवशेष हटाउने, धुवाँ र धुलो सफा गर्ने काम पूरा गरिएपछि अहिले भित्तामा रङ्ग लगाउने र भौतिक संरचनाको मर्मत सुरु गरिएको हो। यस क्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै विद्युत प्रणाली, फर्निचर, कागजात भण्डारण कक्ष र कार्यालय कक्षहरू पनि पुनः व्यवस्थित गरिँदैछ।

सिंहदरबारभित्र रहेका मन्त्रालय र कार्यालयहरूलाई अस्थायी रूपमा वैकल्पिक स्थानबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीका अनुसार, ‘सिंहदरबारको ऐतिहासिक स्वरूप जोगाउँदै आधुनिक सुरक्षा प्रविधि र आगलागी नियन्त्रण प्रणालीसमेत जडान गर्ने योजना छ। यसले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सहयोग पुर्‍याउनेछ।’

सिंहदरबार सरसफाई र रंगरोगनको काम सुरु भएपछि त्यहाँ कार्यरत कर्मचारी र सर्वसाधारणले राहतको अनुभव गरिरहेका छन्।विशेषज्ञहरूका अनुसार, सिंहदरबारको जस्तो ऐतिहासिक भवनलाई पुनःनिर्माण गर्दा मूल डिजाइन र वास्तुकलामा क्षति नपुग्ने गरी संवेदनशील तरिकाले मर्मत गर्नुपर्नेमा जोड दिइएको बताएको छ।

सिफारिस