जेनजी बनेर गृहमन्त्रीसँग ५० प्रतिशत माग्न पुगेका ‘घुसखोर’ पूर्वडिएसपीको ‘कुण्डली’

दियोपोस्ट संवाददाता

काठमाडौं । जेन–जीको प्रदर्शनमा अनेकथरीका स्वार्थ समूहको घुसपैठ र १९ जनाको हत्यापछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारमा ३ जना मन्त्री नियुक्त भइसकेका छन् । अर्थमन्त्रीमा रामेश्वरप्रसाद खनाल, ऊर्जा, भौतिक र सहरी समेत तीन मन्त्रालयको जिम्मा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले अनुरोध गर्दा पनि डा. सन्दुक रुइतले अस्वीकार गरेका छन् ।
कार्की सरकारमा थप मन्त्री नियुक्ति नहुँदा विवादित र बदनाम व्यक्तिहरुले पनि मन्त्री हुन लागेको भन्दै मिडियाबाजी गर्न थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरीहरुको विदेशदेखि स्वदेशसम्म आर्थिक व्यवस्थापन गर्नेदेखि व्यापारीहरुसँग सेटिङ गर्ने रौतहटकी पुनम यादव, नेपाल प्रहरीका विवादित पूर्वडीएसपी गोविन्द पन्थी, पर्यटन बोर्डका पूर्वसदस्य फुरग्याल्जेन शेर्पा लगायत मन्त्री हुने भन्दै अनलाइनमा समाचार लेखाउँदैआएका छन् ।

पूर्वडीएसपी गोविन्द पन्थीले त मन्त्री हुनका लागि अभियान्ता ज्यास्मिन ओझा, किर्ते गरेको अभियोगमा पक्राउ परेका संजीव दाहाल लगायतका केही व्यक्तिहरुलाई लिएर बुधबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउन गएका थिए । मन्त्री हुनका लागि उनले यो फन्डा गरेको सहजै बुझ्न सकिन्छ । किनकी ज्ञापन पत्रमा बुझाइएको मागहरुमा भन्सार, मालपोतसम्म आफूहरुलाई ५० प्रतिशत भाग मागिएको छ ।
पन्थी नेपाल प्रहरीमा असईबाट प्रवेश गरेका हुन् । उनी पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहका पीएसओ भएपछि त्यही आडमा सधैं प्रहरीमा आकर्षक ठाउँमा मात्र जागिर खाने भाग्यमानी मानिन्छन् ।

नेपाल प्रहरीले २०६० तिर गठन गरेको विशेष टोलीमा पन्थी करिब १० वर्ष कार्यरत रहेका थिए । गैरीधारामा गोप्य कार्यालय राखी वैदेशिक रोजगार ठगी, अमेरिकी डलर, हुन्डी, पीसी गर्नेहरुलाई ल्याउँदै तर्साउँदै असुली गर्ने कार्य गरेकोमा विशेष टोली निकै बदनाम हुन गएको थियो । तिब्बती र मारवाडीको नागरिकता लिनेहरुलाई पनि बोलाउने, तर्साउने र असुल्ने कार्य विशेष टोलीका प्रहरीले गरेका थिए । नेपालबाट भारत लाने, अमेरिका र यूरोप उडाउने गिरोहदेखि एयरपोर्टबाट हुने सुन तस्करीमा समेत टोलीले निगरानी गर्ने र असुल्ने गरेको थियो । शुरुमा विशेष टोलीको प्रमुखमा तत्कालीन डीएसपी छविलाल बन्जाडे जोशी थिए । सहकारी ठगी काण्डमा रास्वपा अध्यक्ष रवि लामिछानेसँगै मुद्दा परेका ग्यालेक्सी टीभीका उपाध्यक्ष पूर्वडीआईजी छवि जोशी बन्जाडेपछि विशेष टोलीको प्रमुखमा राजेन्द्रसिंह भण्डारीलाई ल्याइयो । पूर्वएआईजी भण्डारी त्यति विवादमा आएनन् । तर भण्डारीपछि पूर्वआईजीपी रमेश चन्द ठकुरीले डीएसपी जगतमान श्रेष्ठलाई विशेष टोलीको प्रमुख बनाए ।

जगतमान आएपछि विशेष टोली असुली टोलीमा रुपान्तरित भयो । जगतमानले हुन्डी, डलर, पीसी, नागरिकता केसमा असुलीका लागि मानिस ल्याउने र कानुन पढेका तत्कालीन सई गोविन्द पन्थीलाई लगाएर डिल गर्न लाउँथे । गैरीधारामा रहेको कार्यालयमा डिल मिले छाड्ने, नमिले मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालयमा पठाउने गरिन्थ्यो । डीएसपी जगतमान श्रेष्ठको कमाण्डमा रहेको विशेष टोली तर्साउने, असुल्नेमा परिणत भएको भन्दै व्यापक विवादमा परेपछि टोली नै खारेज गरिएको थियो । विशेष टोलीलाई असुली टोली बनाउनेमा मुख्यतया डीएसपी जगतमान श्रेष्ठ, सईद्वय गोबिन्द पन्थी र प्रकाश पाण्डे नै थिए । तिनै पन्थी पछि ललितपुरको पुल्चोक प्रभागको इन्स्पेक्टर हुँदा एक लेनदेनमा मुछिएपछि पूर्वआईजीपी प्रकाश अर्यालले उनलाई कारबाही स्वरुप एक महिना प्रहरी प्रधान कार्यालयभित्रको गणमा राखेका थिए । त्यहाँ ८ अर्ब ठगी काण्डमा पक्राउ परेका विवादित लालीगुराँस सहकारी सँग उनको हिमचिम थियो । उनले उक्त सहकारीबाट ५ लाख रुपैयाँ नजरआना लिएको प्रमाण नै दियोपोस्टले फेला पारेको छ । पछि सर्वेन्द्र खनाल आईजीपी भएपछि उनलाई पुरस्कृत गरी कर्मचारी प्रशासन शाखामा लगेका थिए । कर्मचारी प्रशासन शाखामा प्रहरीको सरुवा बढुवामा पैसा उठाउने गरेको गुनासो आए पनि खनालले उनलाई संरक्षण गरिरहे । खनाल तत्कालीन अपराध महाशाखाको प्रमुख हुँदा पन्थी उनका डिल गर्ने कलेक्टर थिए ।  साँखु प्रभागको इन्चार्ज भएका पन्थी कामभन्दा बढी प्रचार गर्ने भनेर चिनिन्छन् ।

अवकाश हुनुअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहेका उनी वैदेशिक रोजगार पिलर हेर्ने गर्दथे । जुन पिलर अपराध अनुसन्धान कार्यालयमा आकर्षक मानिन्छ । एक वर्षअघि प्रहरीमा ३० वर्षे सेवावधि हटाउने रिट सर्वोच्च अदालतमा दर्ता गर्न प्रहरीका उच्च अधिकारीलाई उकास्ने उनै थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएको र प्रहरी प्रधान कार्यालयले संगठन विरुद्ध मुद्दा हालेकाले पेन्सन रोक्का गर्ने चेतावनीपछि लुरुक्क रिट फिर्ता लिएका थिए । मुद्दा जिताउने ठेक्का लिएर कानुन व्यवसायीलाई दिनुपर्छ भन्दै उनले धेरै प्रहरी अधिकृतसँग पैसा उठाएको आरोप समेत लागेको थियो ।

प्रहरीमा ३० वर्षसम्म अकूत सम्पत्ति आर्जन गरेका तिनै पन्थी अहिले जेनजीको नाम भजाएर भ्रष्टाचारको विरोधी भन्दै मन्त्री हुने सपना देख्ने र आफ्नो प्रशंसामा लेखाएर हिंड्न थालेपछि उनलाई चिन्ने प्रहरीका अधिकारीहरु नै चकित परेका छन् । प्रहरीबाट अवकाश पाएपछि कानुन व्यवसायमा लागेको बताउने पन्थीले कतारबाट विभिन्न ठगी काण्डमा डिपोर्ट भएका मिस्टर गुरुङसँग मिलेर वैदेशिक रोजगार पीडितलाई न्याय दिने, उद्धार गर्न भन्दै कानुन हातमा लिएर अध्यागमन कार्यालय एयरपोर्टभित्रै जाने, हुलहुज्जत गर्ने शर्मिला वाइवा, ज्ञानेन्द्र शाहीजस्तै कथित अभियन्ता बनेका छन् । विवादास्पद मिष्टर गुरुङहरुलाई लिएर उनले म्यानपावरहरुलाई तर्साउने र असुल्ने गरेको आरोप पनि छ ।