
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे छानबिन गर्न सरकारले विशेष आयोग गठन गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकमा उक्त आन्दोलनसँग सम्बन्धित घटनाहरूको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र छानबिन आयोग बनाउन आवश्यक तयारी अगाडि बढाइएको हो ।
आयोग गठन भएपछि आन्दोलनका कारण उत्पन्न भएका घटनाक्रम, सुरक्षाकर्मी र आन्दोलनकारीबीच भएको झडप, सार्वजनिक सम्पत्तिमा भएको क्षति तथा आन्दोलनको मूल उद्देश्यबारे विस्तृत अनुसन्धान गर्ने जिम्मेवारी दिइने बताइएको छ।
सरकारले छानबिन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने भन्दै नागरिक समाज, मानवअधिकारकर्मी र विभिन्न राजनीतिक दलका नेताहरूले जोड दिएका छन्। उनीहरूको भनाइ अनुसारआयोगमार्फत तथ्य उजागर भई आगामी दिनमा यस किसिमका आन्दोलनहरूको व्यवस्थापनका लागि नीति बनाउन सहज हुनेछ।
यता, आन्दोलनकारी पक्षले भने छानबिन आयोग गठनको तयारीलाई सकारात्मक संकेतका रूपमा लिए पनि आयोग निष्पक्ष हुने ग्यारेन्टी सरकारबाट चाहिने बताएका छन्। उनीहरूले सत्यतथ्य सार्वजनिक नगरी आयोगलाई केवल औपचारिकता मात्रै बनाउन खोजे आन्दोलनलाई अझ चर्काउने चेतावनी पनि दिएका छन्।
सरकारले आयोग गठनबारे औपचारिक निर्णय चाँडै सार्वजनिक गर्ने बताएको छ।