
काठमाडौं — जेनजी आन्दोलनका घाइतेहरू आइतबार सिंहदरबारमा आक्रोशित बनेका छन्। गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउन पुगेका उनीहरू “हामी नेपाल”का संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित देखिए।
उनीहरूले सुदन गुरुङलाई आन्दोलनको नेता जसरी प्रस्तुत हुन नदिन चेतावनी दिएका छन्। “जेनजी आन्दोलनमा कोही नेता छैन, हाम्रो माग सबैको हो,” भन्दै उनीहरूले नेतृत्वको दाबीप्रति असन्तुष्टि जनाएका थिए।
सिंहदरबार प्रवेशमा रोक लगाएपछि घाइतेहरूले दक्षिण गेटमा धर्ना दिएका थिए। पछि प्रहरीले उनीहरूलाई गाडीमार्फत गृहमन्त्रालय पुर्याएको थियो।
गृहमन्त्रालयको गेटमा पुगेपछि घाइतेहरूले आफ्ना चोटहरू देखाउँदै आक्रोश व्यक्त गरे। उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको “गोली नहाने” भनाइप्रति प्रश्न उठाउँदै, “यो घाउ के हो?” भन्दै आक्रोश पोखे।
घाइतेहरूका अनुसार उनीहरूको माग अहिलेसम्म बेवास्ता गरिएको छ, र वास्तविक पीडितको आवाज सुन्न सरकार अझै तयार देखिएको छैन।