
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी पूर्नगठनसहित ४ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको पार्टी पदाधीकारी बैठकमा प्रचण्डले उक्त प्रस्ताव अघि सारेका हुन् ।
वर्तमान केन्द्रिय समिति भङ्ग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव छ । प्रचण्डको प्रस्ताव अनुसार हालका अध्यक्षसहित सबै पदाधिकारी, केन्द्रीय समिति र स्थायी कमिटीलाई भङ्ग गरी तल्लो तहका कमिटीबाट अधिवेशन सुरु गर्ने योजना छ ।
उनले विशेष महाधिवेशनको तयारी गर्न पार्टी नेता तथा कार्यकर्तालाई आव्हान समेत गरेका छन् । आगामी मङ्सिरभित्र विशेष महाधिवेशन सम्पन्न गरी नयाँ संरचनासहित पार्टीलाई पुनः संगठन गर्ने उनको अडान रहेको छ ।
दाहालले विशेष महाधिवेशनबाट पार्टीलाई सबल, अनुशासित र जनतामुखी बनाउँदै आगामी राजनीतिक यात्रामा अघि बढ्ने बताएका छन् । उनका अनुसार, यही प्रक्रियाबाट संगठनलाई नयाँ ढाँचामा उभ्याइने र पार्टीलाई सशक्त रूपमा अघि बढाइने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डले फागुन २१ को निर्वाचन सफल बनाउन पार्टीको तर्फबाट वातावरण निर्माण गर्ने प्रस्ताव समेत गरेका छन् ।