शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई “मन्त्री” भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राष्ट्रपतिसमक्ष पुनको नाम सिफारिस गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।

पुनले लेखेका छन्, “कसैले पनि फोन गरेर बधाई नदिनु होला, खादा-माला लिएर पनि नआउनु होला।” उनले आफूलाई “मन्त्री” नभनी “कबाडी वैज्ञानिक मन्त्री” भन्न सकिने बताए।
उनको जोड शिक्षा, विज्ञान र प्रविधिमा ठोस काम र योजनामा छ। उनले पाँच महिनाभित्र गर्न सकिने र गर्नै पर्ने सुझाव तथा आइडिया भए, आफ्नो व्हाट्सएपमा पठाउन आग्रह गरेका छन्। उनको यो अभिव्यक्तिले पदको मोहभन्दा पनि कामप्रतिको प्रतिबद्धता झल्काउँछ।





















