मन्त्रीको सूचीबाट डा.संगीता मिश्राको नाम हटाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुशिला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम हटाइएको छ । मिश्राको विवादास्पद विगत सार्वजनिक भएपछि मन्त्रीको सुचीबाट उनको नाम हटाइएको हो ।

प्रधानमन्त्री कार्कीले आइतबार मिश्रासहित ५ जनाको नाम राष्ट्रपति कार्यालय शीतल निवास पठाएकी थिइन् । यससंगै आजै ५ जना मन्त्रीहरुको शपथ कार्यक्रम तय गरिएको थियो ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा पठाइएको मन्त्रीको सुचीबाट नाम हटाई मन्त्री नियुक्ति सिफारिसको फाइल समेत फिर्ता मगाएकी छन् । सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो ।

राष्ट्रपति कार्यालयमा पूनः पठाइएको फाइलमा मिश्राको नाम हटाइएको राष्ट्रपति कार्यालय स्रोतको भनाई छ । मिश्राको नाम हटाएसंगै आजै तीन बजे राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, डाक्टर मदन परियार, जगदिश खरेल र महाबिर पुनको शपथ हुने बताइएको छ ।

अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनाइएको छ भने डाक्टर मदन परियारलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै इमेज च्यानलका समाचार प्रमुख जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महाबिर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि भदौ २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन् ।