
चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत पाँच स्थानमा पहिरो हटाएपछि सडक खुलाइएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीलको टोलीले सडकको स्थलगत अनुगमन गरेको छ।
सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी दीर्घकालीन समाधानका उपायबारे चर्चा गरिएको थियो।
चाडपर्वको बेला बन्द भएको सडक स्थानीयको अवरोधका कारण ढिलो खुलेको हो। मन्त्री घिसिङको पहलमा सहमति जुटेपछि बाटो खोलिएको हो। सडक सञ्चालनमा आएसँगै दशैंका लागि सामान बोकेका कन्टेनरहरू नाकाबाट आउजाउ गर्न थालेका छन्।