सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरण पछि हत्या भएको छ । आइतबार राति ८ बजे अपहरणमा परेका अभिषेकको शव घरभन्दा केही पर आँप बगैंचामा आज बिहान फेला परेको हो ।

अभिषेकका बुवा संजय सिंहका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । रातभरि उनको खोजतलास गर्दा पनि फेला परेका थिएनन् ।

सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको संजयले बताए । त्यसपछि आफ्नो अभिषेक अपहरणमा परेको थाहा भएको उनले बताए ।

हिन्दी भाषामा लेखिएको म्यासेजमा अपरहणकारीले ५ करोड रुपैयाँ फिरौती मागेका थिए । २५ तारेखसम्म पैसा नदिए बालकको हत्या गर्ने चेतावनी दिएका अपहरणकारीले आज बिहान हत्या गरि शव घर नजिकै छोडेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धान थालिएको र ‘डग टोली’ बोलाउने तयारी भएको छ ।