बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको खतरा, यस्ता छन् रोग लाग्न नदिने उपायहरु

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिले बाढी र पहिरोको जोखिमसँगै विभिन्न संक्रामक रोग फैलिने खतरा पनि बढेको छ । बाढीका कारण पानीका स्रोत दूषित हुनु, फोहोर जथाभावी फैलिनु, मरेका जनावर तथा जीवजन्तुको शव व्यवस्थापन हुन नसक्नु र सरसफाइको अभावका कारण स्वास्थ्य जोखिम बढेको हो ।

विपद्का क्षेत्रमा खटिएका चिकित्सकका अनुसार बाढी प्रभावित क्षेत्रमा दूषित पानीको सम्पर्कमा आउँदा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस लगायतका रोग फैलिन सक्छन् । समयमै पहिचान, परीक्षण र उपचार नपाए यस्ता रोगले महामारीको रूप लिन सक्ने जोखिमसमेत हुन्छ ।

बाढीका कारण विस्थापित मानिसहरू एउटै स्थानमा भीडभाडमा बस्नुपर्ने अवस्था रहेकाले स्वास्थ्य जोखिम थप बढेको छ । दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि र सरसफाइको अभावलाई बाढीपछि रोग फैलिने मुख्य कारण मानिन्छ ।

बाढी प्रभावित क्षेत्रमा जनावरका मरेका शव तथा मलमूत्र पानीमा मिसिँदा लेप्टोस्पाइरोसिसको जोखिम पनि बढेको चिकित्सकहरू बताउँछन् । यो रोग दूषित पानी वा संक्रमित जनावरको मलमूत्रको सम्पर्कबाट सर्न सक्छ । कुकुर, बिरालो तथा मुसालगायतका जनावरबाट पनि संक्रमण फैलिन सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक छ ।

प्राकृतिक प्रकोपपछि पानी र सरसफाइको अवस्था बिग्रिँदा संक्रामक रोग फैलिने जोखिम सामान्य समयभन्दा बढी हुने गरेको चिकित्सकहरु बताउँछन् । यदि कुनै प्रभावित क्षेत्रमा असामान्य रूपमा झाडापखालाका बिरामी बढेमा तत्काल पहिचान, परीक्षण र उपचार सुरु गर्नुपर्ने हुन्छ ।
चिकित्सकका अनुसार बाढीपहिरोपछि पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले सुरक्षित खानेपानीको अभाव ठूलो स्वास्थ्य समस्या बन्न सक्छ । त्यसैले राहत तथा उद्धारमा खटिएका निकायले प्रभावितलाई सबैभन्दा पहिला सफा र सुरक्षित पानीको तथा सुरक्षित खाना उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

विस्थापित मानिसहरू घर, सम्पत्ति वा आफन्त गुमाएको अवस्थामा रहेकाले व्यक्तिगत सरसफाइ र खानपानमा पर्याप्त ध्यान दिन नसक्ने अवस्था हुन सक्छ । यस्तो अवस्थामा राहत तथा उद्धारमा संलग्न निकायले सरसफाइ र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरुको भनाइ छ ।

बाढीपछि ठाउँठाउँमा पानी जम्ने भएकाले लामखुट्टेको संख्यासमेत बढ्न थालेको छ । यसले डेंगु र मलेरिया लगायतका रोगको जोखिम बढाउने चिकित्सकहरूको भनाइ छ । लामखुट्टेबाट बच्न दिन र रात दुवै समयमा सावधानी अपनाउनुपर्छ । झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घर, शिविर र आसपासका क्षेत्रमा पानी जम्न नदिने व्यवस्था गर्नुपर्छ ।

त्यस्तै, बाढीपछि ढलको पानी मिसिनु, जनावर मर्नु र खानेकुरा दूषित हुनुले विभिन्न ब्याक्टेरियल संक्रमणको जोखिम बढाउन सक्छ । बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया तथा अन्य संक्रमणको जोखिम बढी हुन सक्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।

अस्थायी शिविरमा भीडभाडका कारण रुघाखोकी, फ्लु, निमोनिया तथा छालासम्बन्धी संक्रमण पनि सजिलै फैलिन सक्छ । कसैलाई ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो हुने, झाडापखाला, बान्ता वा छालामा संक्रमण देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

बाढी प्रभावित क्षेत्रमा पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिअनुसार शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । क्लोरिन वा पानी शुद्धीकरण गर्ने ट्याब्लेट प्रयोग गर्दा प्याकेटमा उल्लेख गरिएको मात्रा वा स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नुपर्छ। जथाभावी धेरै क्लोरिन हालेर पानी शुद्ध बनाउन खोज्न नहुने चिकित्सकहरूको सुझाव छ ।

बाढीको पानीको पानी परेको वा छोएको, बिग्रिएको, लामो समय खुला राखिएको वा गन्हाएको खाना खानु हुँदैन । खाना राम्ररी पकाएर खानुपर्छ भने काँचो र पकाएको खानेकुरा छुट्टाछुट्टै राख्नुपर्छ ।

बाढीका कारण धेरै ठाउँमा शौचालय प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा खुला ठाउँमा दिसापिसाब गर्दा पानी र माटो दूषित हुन सक्छ । संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने भएकाले अस्थायी शिविरमा व्यवस्थित शौचालयको व्यवस्था गर्न आवश्यक छ ।

साबुनपानीले नियमित हात धुनु पनि संक्रमण रोक्ने प्रभावकारी उपाय हो । खाना पकाउनुअघि, खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र बिरामीको हेरचाह गरेपछि साबुनपानीले हात राम्ररी धुन चिकित्सकहरूले सुझाव दिएका छन् ।

शिविर तथा राहत केन्द्रमा फोहोर जथाभावी फाल्न नदिने, खानेपानीको मुहान नजिक दिसापिसाब गर्न नदिने र मरेका जनावर तथा जीवजन्तुको सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा पनि चिकित्सकहरूले जोड दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस