
धनगढी । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका-९ मा आधा दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ।
घरमाथिबाट खसेको पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। तीमध्ये केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पहिरोमा परी मोती उखेडाका दुईवटा गोरु मरेका छन् । पहिरो घरभित्रै पस्दा भाँडाकुँडा, लत्ताकपडा, अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
पहिरोका कारण घर तथा गोठमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घरमा पहिरो पसेपछि प्रभावित परिवारहरू थप जोखिममा परेका छन्।
अविरल वर्षाका कारण बाजुराका अन्य विभिन्न स्थानमा समेत बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको प्रहरीले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा भएको क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न प्रहरीले आग्रह गरेको छ।