
नुवाकोट । भदौ १० गते आएको बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुलमा क्षति पुगेपछि टुटेको नुवाकोट-धादिङको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले एक्रो ब्रिज निर्माणलाई तीव्रता दिएको छ ।
नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको काम अघि बढाएको हो ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमन सहज बनाउन सेनाले ६० मिटर लामो र ५.५ मिटर चौडा पुल निर्माण गरिरहेको छ । उक्त पुलले ५० टनसम्म भारवहन गर्न सक्ने क्षमता राख्ने बताइएको छ ।
पुल निर्माण सम्पन्न भएपछि देवीघाटसहित आसपासका बस्तीमा आवागमन तथा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ । बाढीपछि अवरुद्ध सडक सम्पर्कका कारण स्थानीयवासी तथा यात्रुले भोग्दै आएको समस्या पुल सञ्चालनमा आएपछि केही हदसम्म समाधान हुने विश्वास गरिएको छ ।



