
रसुवा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। बाढीप्रभावित समुदायको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै उपचारको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले यो सेवा उपलब्ध गराएको हो ।
अस्पतालले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण सिर्जित मानवीय तथा भौतिक क्षति र प्रत्यक्ष प्रभावित परिवारको दीर्घकालीन आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू १ वर्षसम्म निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
अस्पतालले विज्ञप्तिमा यो सेवा प्राप्त गर्ने प्रक्रिया र आवश्यक विवरणहरू चाँडै सार्वजनिक गरिने उल्लेख गरेको छ ।
यसैगरी अस्पतालले आफ्नो क्षमता अनुसार बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न सहकार्य तथा सहयोगको तयारीसमेत गरिरहेको छ।
कठिन घडीमा बाढीप्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धुलिखेल अस्पतालले प्रभावित समुदायको स्वास्थ्य, पुनःस्थापना र पुनरुत्थानका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।