बेत्रावतीः युद्धको सन्धिदेखि व्यापारिक सभ्यतासम्म, बाढीपछि बगरमा परिणत ऐतिहासिक बस्ती!

दियोपोस्ट संवाददाता

नुवाकोट । कुनै ठाउँ केवल घर, पसल, सडक र मानिसको आवात जावतका लागि मात्र हुँदैन । समयसँगै त्यहाँ हजारौँ मानिसको उपस्थिति, व्यापारका कथा, संस्कृति, धर्म, संघर्ष र पुस्तौँका सम्झना जोडिँदै जान्छन् । त्यसपछि त्यो ठाउँ एउटा भूगोल मात्र रहँदैन, इतिहास बन्छ ।

त्यस्तै इतिहास बोकेको ठाउँ हो, नुवाकोटको बेत्रावती । त्रिशूली नदी आसपास फैलिएको बेत्रावती नुवाकोट र रसुवाको सीमावर्ती क्षेत्रमा रहेको पुरानो व्यापारिक तथा सांस्कृतिक केन्द्र हो । एकातिर रसुवाको उत्तरी भूभाग हुँदै चीनतर्फ जाने मार्ग र अर्कोतिर नुवाकोट हुँदै धादिङ तथा काठमाडौँ जोडिने बाटो भएकाले बेत्रावती लामो समयदेखि आवागमन र व्यापारको संगमस्थलका रूपमा विकसित भयो ।

तर गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी-त्रिशूली बाढीले बेत्रावतीको परिचित भूगोल मात्र बदलेन, यहाँ पुस्तौँदेखि बस्दै आएका मानिसको भविष्य समेत गंभिर संकट परेको छ ।

घर, जग्गा र सम्पत्ति फेरि बनाउन सकिन्छ । तर बाढीमा गुमेका आफन्तलाई फर्काउन सकिँदैन । त्यसैले पुरानै स्थानमा बेत्रावती पुनः बसाउने निर्णय गर्नुअघि त्यहाँ बस्ने नागरिकको सुरक्षा र भविष्यबारे गम्भीर मूल्याङ्कन गर्नु पर्छ ।

जहाँ केही दिनअघिसम्म घर, पसल, विद्यालय, होटल र मानिसको चहलपहल थियो, अहिले त्यहाँ ढुंगा, माटो, गेग्रान र भग्नावशेष छन् । कतिपय परिवारले आफन्त गुमाएका छन् भने कतिपयले आफ्नो घर, व्यवसाय र सम्पत्तिसँगै जन्मथलोमै फर्किएर बस्ने विश्वाससमेत गुमाउन थालेका छन् ।

युद्धको सन्धिले चिनाएको बेत्रावतीः
बेत्रावतीको इतिहास व्यापारसँग मात्र जोडिएको छैन । नेपाल-तिब्बत युद्धको इतिहासमा समेत यसको महत्वपूर्ण स्थान छ । नेपाल र तिब्बतबीच भएको युद्धपछि वि.सं.१८४९ मा बेत्रावती क्षेत्रमा सन्धि भएको इतिहासमा उल्लेख छ । उक्त सन्धिले दुई पक्षबीचको युद्ध अन्त्य गर्ने बाटो खोलेको थियो । त्यसैले बेत्रावतीलाई नेपाल-तिब्बत सम्बन्धको महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा समेत लिइन्छ ।

बेत्रावतीमा रहेको ऐतिहासिक शिला पनि यही घटनाको स्मृतिसँग जोडिएको थियो । तर भदौ १० गतेको बाढीले त्यो ऐतिहासिक शिलासमेत आफ्नो मूल स्थानबाट विस्थापित गरिदिएको छ। बाढीपछि शिला त्रिशूली नदीको बीच भागमा पुगेको बताइएको छ ।

यसले बाढीले घर, सडक र व्यापारिक संरचना मात्र होइन, बेत्रावतीको इतिहास बोकेका सम्पदासमेत जोखिममा पारेको देखाउँछ ।

नदीको संगमबाट बनेको बस्तीः
बेत्रावतीको विकासमा यसको भौगोलिक अवस्थाको ठूलो भूमिका छ । त्रिशूली नदी प्रणालीसँग जोडिएको यो क्षेत्र नदी, खोला र पहाडी बाटोको संगममा रहेको बस्ती हो ।

नदीबाट पानी र खेतीयोग्य जमिन तथा पहाडी भेगबाट हुने मानिस र सामानको आवतजावतले यहाँ बस्ती विस्तारमा सहयोग पुर्‍यायो । यात्रुका लागि विश्रामस्थल र व्यापारीका लागि किनबेचको केन्द्र बन्दै जाँदा बेत्रावती क्रमशः बजारमा परिणत भयो ।

स्थानीय विवरणअनुसार पुरानो बेत्रावतीमा नेवार समुदायको उल्लेख्य उपस्थिति थियो । त्यससँगै तामाङलगायत विभिन्न समुदायको बसोबास विस्तार हुँदै गयो । समयक्रममा घर, पसल, विद्यालय, होटल, बैंक तथा अन्य सेवा केन्द्र थपिए । यसरी बेत्रावती एउटा पुरानो बस्तीबाट आधुनिक बजारमा रूपान्तरण भयो ।

व्यापारको ‘लाइफलाइन’:
बेत्रावतीको आर्थिक शक्ति यसको भौगोलिक अवस्थिति थियो । रसुवागढी तथा उत्तरी रसुवातर्फ जाने यात्रु र मालवाहक सवारीका लागि यो महत्वपूर्ण मार्गमा पर्थ्यो ।

रसुवाका दक्षिणी गाउँदेखि नुवाकोटका उत्तरी तथा पश्चिमी क्षेत्रसम्मका मानिसका लागि दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्रीसम्म खरिद गर्ने बजारका रूपमा बेत्रावती परिचित थियो ।

पुराना पैदल तथा खच्चड मार्गको स्थान मोटरबाटोले लिन थालेपछि बजारको आर्थिक गतिविधि अझ विस्तार भयो । किराना, खाद्यान्न, होटल, निर्माण सामग्री, यातायात तथा अन्य व्यवसाय फस्टाए । कैयौँ नयाँ घर थपिए । पुराना घरमा तला थपिए । बैंक तथा वित्तीय संस्था आए । इमेल इन्टरनेट बिस्तार भए । स्वास्थ्य केन्द्र, विद्युत, खानेपानी, विद्यालय र अन्य सेवा केन्द्र खुले । बेत्रावतीको पुरानो व्यापारिक पहिचान आधुनिक बजारको स्वरूपमा बदलिँदै गयो ।

धर्म र संस्कृतिको संगमः
बेत्रावतीको पहिचान व्यापारमा मात्र सीमित थिएन । उत्तरगया धामका कारण यस क्षेत्रको धार्मिक महत्व पनि उत्तिकै थियो । पितृकार्य तथा श्राद्धका लागि उत्तरगया आउने मानिसका कारण यहाँ धार्मिक यात्रुको आवागमन हुन्थ्यो । गोसाइँकुण्डलगायत धार्मिक गन्तव्यतर्फ जाने यात्रुका लागि समेत बेत्रावती महत्वपूर्ण मार्ग थियो ।

नेवार समुदायसँग जोडिएका गाईजात्रा, लाखे लगायतका सांस्कृतिक परम्पराले यहाँको सामाजिक जीवनलाई जीवन्त बनाएका थिए । अर्थात् बेत्रावती केवल एउटा बजार थिएन । यो धर्म, संस्कृति, व्यापार, आवागमन र सामाजिक सम्बन्धको संगम थियो ।

भूकम्पपछि उठ्दै गरेको बस्तीः
२०७२ सालको भूकम्पले बेत्रावती आसपासका बस्तीलाई पनि प्रभावित बनायो । कतिपय परिवार विस्थापित भए । कतिपयले वर्षौं अस्थायी बसोबासमा बिताए । तर बिस्तारै बस्ती पुनर्निर्माण भयो । नयाँ घर बने । व्यवसाय फेरि सञ्चालनमा आए । बजारले आफ्नो पुरानो चहलपहल फर्काउँदै थियो ।

स्थानीयका लागि त्यो केवल घर पुनर्निर्माणको विषय थिएन । त्यो आफ्नो थातथलो, व्यवसाय, आफन्त र सामाजिक जीवन पुनः निर्माण गर्ने प्रयास थियो । तर भूकम्पबाट उठेको बेत्रावतीले एक दशक नपुग्दै अर्को ठूलो विपत्ति सामना गर्नुपर्‍यो ।

भदौ १०ः केही मिनेटमै बदलिएको भूगोलः
गत भदौ १० गते बिहान बेत्रावतीले पुस्तौँदेखि निर्माण हुँदै आएको बस्तीको स्वरूप नै परिवर्तन गर्ने खालको विपत्ति सामना गर्‍यो । रसुवा क्षेत्रमा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा फैलियो । बाढीले ठूलो परिमाणमा ढुंगा, माटो र गेग्रान बोकेर बेत्रावतीमा धावा बोल्यो ।

स्थानीयका अनुसार बिहान करिब ९ः२५ देखि ९ः३० बजेतिर बाढी बजार क्षेत्रमा प्रवेश गरेको थियो । केही मिनेटमै घर तथा व्यापारिक संरचनाभित्र पानी र गेग्रान पस्यो । त्यसपछि बेत्रावतीको पुरानो नक्सा नै फेरियो ।

बाढीले सयौँ घर ढले । कतिपय संरचना पूर्ण रूपमा बगे । कतिपय घर माटो र गेग्रानले पुरिए । सडक तथा पुलमा क्षति पुग्यो । विद्युत् र सञ्चार अवरुद्ध भयो । बजारको व्यापारिक संरचना तहसनहस भयो ।

 बेत्रावतीको माया र सम्झनाका कारण परिवारको जीवन जोखिममा राख्न सकिँदैन । बेत्रावतीलाई पुरानै स्थानमा हुबहु फर्काउने कि इतिहासलाई जोगाउँदै सुरक्षित ठाउँमा नयाँ बेत्रावती बनाउने ?

सबैभन्दा ठूलो क्षति भने मानवीय भयो । धेरै परिवारले आफ्ना आफन्त गुमाए । कतिपय अझै बेपत्ताको खोजीमा छन् । एउटै पुरिएको घरबाट ठूलो संख्यामा शव भेटिएको विवरणले बाढीको भयावहता झनै स्पष्ट पारेको छ ।

‘घर बनाउन सकिन्छ, मान्छे फर्काउन सकिँदैन’:
बाढीले बेत्रावतीका स्थानीयको मनमा अर्को प्रश्न जन्माएको छ-अब यही ठाउँमा फेरि घर बनाएर बस्ने कि सुरक्षित स्थानमा नयाँ जीवन सुरु गर्ने? बेत्रावती–सातबिसेटोलका स्थानीय सुनिल डंङोलका लागि यो प्रश्न केवल पुनर्निर्माणको होइन, परिवारको सुरक्षासँग जोडिएको प्रश्न हो ।

बाढीपछि सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै डङोलले आफूहरू अब बेत्रावतीमा बस्न नसक्ने बताएका छन् । उनका अनुसार बेत्रावती उनीहरूका लागि गाउँ वा बसोबास गर्ने ठाउँ मात्र थिएन । त्यहाँ घर, परिवार, आफन्त, सम्झना र जीवन जोडिएको थियो । तर बाढीले दिएको क्षतिपछि त्यही थातथलो अब सुरक्षाको दृष्टिले विश्वास गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले आफ्ना आफन्त गुमाइसकेको र भविष्यमा फेरि यस्तै विपत्ति दोहोरिने डरले सताइरहेको बताएका छन् । ‘एकपटक यस्तो भयो भन्दैमा फेरि हुँदैन भन्ने ग्यारेन्टी छैन’ उनले भनेका छन् ।

घर, जग्गा र सम्पत्ति फेरि बनाउन सकिन्छ । तर बाढीमा गुमेका आफन्तलाई फर्काउन सकिँदैन । त्यसैले पुरानै स्थानमा बेत्रावती पुनः बसाउने निर्णय गर्नुअघि त्यहाँ बस्ने नागरिकको सुरक्षा र भविष्यबारे गम्भीर मूल्याङ्कन गर्नु पर्छ ।

सुरक्षित ठाउँमा सम्मानजनक र स्थायी पुनर्बासः
इतिहाससँग माया हुन्छ, तर जोखिमसँग सम्झौता हुँदैन । बेत्रावतीका धेरै विस्थापित परिवारले यतिबेला सुरक्षित आवास खोजिरहेका छन् । आफ्नो जन्मथलो छाड्नु कसैका लागि सहज निर्णय होइन । पुस्तौँदेखि जोडिएको घर, छिमेकी, खेतबारी, व्यापार, मन्दिर, चाडपर्व र स्मृतिलाई छाडेर नयाँ ठाउँमा बस्नु भावनात्मक रूपमा अत्यन्त कठिन हुन्छ । तर विपत्तिले एउटा कठोर यथार्थलाई स्वीकार गर्नु पर्छ । थातथलोप्रतिको माया र परिवारको सुरक्षाबीच रोज्नुपर्दा मानिसले सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।

बेत्रावतीका स्थानीयको अहिलेको प्रश्न यही हो । के पुरानै ठाउँमा घर बनाएर फेरि बस्ने? वा नदीको बहाव, भूगर्भ र बाढीको जोखिम अध्ययन गरेर सुरक्षित क्षेत्रमा नयाँ बस्ती विकास गर्ने?

अबको बेत्रावती कस्तो हुने?
भदौ १० को बाढीपछि बेत्रावतीको पुनर्निर्माणलाई केवल भत्किएका घर बनाउने अभियानका रूपमा हेर्न सकिँदैन । अब भूगर्भीय अवस्था, नदीको बहाव, बाढीको जोखिम, सडक पहुँच, व्यापारिक सम्भावना, सार्वजनिक सेवा र ऐतिहासिक सम्पदालाई एकीकृत रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ ।

नदी किनारमा पुनः अव्यवस्थित बस्ती विस्तार रोक्नुपर्नेछ । जोखिमयुक्त क्षेत्रमा आवास निर्माणमा पुनर्विचार गर्नुपर्नेछ । सुरक्षित स्थानमा व्यवस्थित आवासीय क्षेत्र विकास गर्नुपर्नेछ ।

त्यस्तै, व्यापारिक क्षेत्र, विद्यालय, स्वास्थ्य संस्था, खुला स्थान तथा आपत्कालीन उद्धार मार्गसमेत योजनाबद्ध ढंगले निर्माण गर्नुपर्नेछ । बाढीको पूर्वसूचना प्रणाली, सुरक्षित आश्रयस्थल र आपत्कालीन उद्धार संयन्त्र विकास गर्नु पनि उत्तिकै आवश्यक हुनेछ ।

त्यससंगै बेत्रावतीको इतिहास हराउन दिनु हुँदैन । नेपाल-तिब्बत सन्धिको स्मृति, ऐतिहासिक शिला, उत्तरगया क्षेत्रको धार्मिक महत्व र पुरानो बजारको सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै सुरक्षित स्थानमा नयाँ बेत्रावती विकास गर्न सकिने सम्भावना खोजिनुपर्छ ।

बेत्रावतीको कथा सकिएको छैनः
बेत्रावतीले इतिहासमा युद्ध देख्यो । सन्धि देख्यो । व्यापारको उत्कर्ष देख्यो । धर्म र संस्कृतिको विकास देख्यो । भूकम्पको चोट सहेर फेरि उठ्यो । अब उसले अर्को विनाश देखेको छ ।

भदौ १० को बाढीले घर भत्काएको छ । बजार बगाएको छ । भूगोल बदलेको छ । परिवार छुट्याएको छ । इतिहास बोकेको सम्पदासमेत जोखिममा पारेको छ । तर बेत्रावतीको कथा यहीँ सकिँदैन । बेत्रावतीको माया र सम्झनाका कारण परिवारको जीवन जोखिममा राख्न सकिँदैन । बेत्रावतीलाई पुरानै स्थानमा हुबहु फर्काउने कि इतिहासलाई जोगाउँदै सुरक्षित ठाउँमा नयाँ बेत्रावती बनाउने ?

सरकार वा प्राविधिक निकायले बेत्रावतीका नागरिकको पीडा, अनुभव र भविष्यको आवाज पनि सुन्नुपर्नेछ । किनकि घर फेरि बनाउन सकिन्छ । बजार फेरि उठाउन सकिन्छ । सडक र पुल फेरि बनाउन सकिन्छ । तर गुमेको जीवन फर्काउन सकिँदैन।

त्यसैले अबको बेत्रावती इतिहास जोगाउने, तर जीवनलाई जोखिममा नराख्ने बेत्रावती हुनुपर्छ । भदौ १० को बाढीले बेत्रावतीको पुरानो भूगोल बगाएको छ । तर त्यसै भग्नावशेषबाट सुरक्षित, व्यवस्थित र इतिहासप्रति सम्मान गर्ने नयाँ बेत्रावती निर्माण गर्ने अवसर पनि जन्मिएको छ ।

बेत्रावतीका लागि अब पुनर्निर्माण मात्र पर्याप्त छैन-पुनर्विचार आवश्यक छ ।

सिफारिस