
काठमाडौँ । हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-३० का ३४ वर्षीय हर्कबहादुर गुरुङ रहेका छन् । उनलाई हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय कायम भएको थियो ।
प्रहरीका अनुसार गुरुङले २०८१ साउन १४ गतेदेखि कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी फरार भएका थिए ।
फरार भएपछि कास्की जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा खटिएको प्रहरी टोलीले आज कास्कीको रुपा गाउँपालिका-७ धारापानीबाट पक्राउ गरेको हो । गुरुङले ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान गर्न बाँकी रहँदै उनी कारागारबाट फरार भएका थिए ।
पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय कास्कीमा पेस गरिएको प्रहरीले जनाएको छ ।