
विराटनगर । लागुऔषध बरामद भएको गाडीबाट प्रमाण मेटाउने प्रयास गरेको आरोपमा ‘महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस’का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१४ का यादवलाई प्रहरीले सोमबार इलाका प्रहरी कार्यालय रानीको परिसरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ५० किलो २ सय ९० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको को १ च ६६२० नम्बरको मारुती भ्यानमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको स्टिकर टाँसिएको थियो । यादवमाथि उक्त स्टिकर उप्काएर प्रमाण मेटाउने प्रयास गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादव अनधिकृत रूपमा इलाका प्रहरी कार्यालय रानीको परिसरभित्र प्रवेश गरी हिरासतमा राखिएको उक्त गाडीको स्टिकर उप्काउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रहरीले यादवलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाँजा तस्करीमा प्रयोग भएको उक्त गाडीमा सुरक्षाकर्मीलाई झुक्याउन अस्पतालको स्टिकर टाँसिएको हुनसक्ने देखिएको छ । सोही स्टिकर हटाएर प्रमाण मेटाउने प्रयास गरेको आरोपमा यादवमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
अखिल क्रान्तिकारीका यादव स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन-२०८१ मा सभापति पदमा निर्वाचित भएका थिए ।