
काठमाडौँ । सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्। उनलाई साइबर ब्युरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो।
नेपाल प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह, भ्रामक समाचार तथा संवेदनशील अवस्थामा पीडितको भावनामा चोट पुर्याउने सामग्रीमाथि निगरानी बढाएको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विपत्तिको समयमा हृदयविदारक तथा विभत्स तस्बिर र भिडियो पोस्ट गरी जनमानसमा थप पीडा, त्रास तथा सामाजिक असहिष्णुता फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताए।
पछिल्लो तथ्यांकअनुसार फेसबुकमा १६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ गरी कुल १७३ वटा गलत सूचना तथा अफवाहजन्य सामग्री प्रसारण भएको पाइएको प्रहरीले जनाएको छ । तीमध्ये फेसबुकका ७९ र टिकटकका ४ गरी ८३ वटा सामग्री सामाजिक सञ्जालबाट हटाइएको छ।
यस्ता सामग्रीको निगरानी तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरेर कानुनी कारबाही गर्नेछ।
समितिका संयोजक प्रहरी नायव उपरीक्षक आचार्यका अनुसार सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्नेलाई कानुनी दायरामा ल्याउन समिति सक्रिय छ । अनजानमा सामग्री पोस्ट वा सेयर गर्ने व्यक्तिको हकमा सामग्रीको गम्भीरता हेरी सचेत गराएर हटाउन लगाउने गरिएको उनले बताए।
प्रहरीले विपद्को मौका छोपी हुन सक्ने अपराध तथा राहत संकलनका नाममा हुन सक्ने ठगी नियन्त्रणमा समेत निगरानी बढाएको जनाएको छ। सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह र भ्रामक सामग्रीमाथिको निगरानीलाई थप तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रहरीको भनाइ छ।