
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाईले गरेको परीक्षणमा डल्ले खुर्सानीमा कार्बामेट समूहको विषादी २.३४७६ प्रतिशत र अर्गानोफस्फेट समूहको विषादी ४०.५८०५ प्रतिशत भेटिएको हो ।
प्रयोगशालाको मापदण्डअनुसार ३५ देखि ४५ प्रतिशतसम्म विषादीको अवशेष देखिएका तरकारी तत्काल उपभोग नगरी केही दिन राखेर मात्र खान मिल्ने वर्गमा पर्छन् । सोही मापदण्डका आधारमा उक्त डल्ले खुर्सानीलाई पनि केही दिनपछि मात्र उपभोग गर्न मिल्ने वर्गमा राखिएको प्रयोगशालाले जनाएको छ ।
यस्तै, परीक्षण गरिएका अन्य नौ प्रकारका तरकारीमा भने विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम पाइएको छ । ती तरकारी मानव उपभोगका लागि योग्य रहेको प्रयोगशालाले जनाएको छ ।