
काठमाडौँ । वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको नुवाकोट-धुन्चे सडक १७ घण्टापछि खुलेको छ।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी र धुन्चे जोड्ने सडक बाढीपछि मुख्य मार्ग अवरुद्ध हुँदा वैकल्पिक बाटोका रूपमा प्रयोग हुँदै आएको थियो। बुधबार साँझ जिरो-भोर्ले-पार्च्याङ सडकखण्डअन्तर्गत भोर्ले बजारनजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान डोजर प्रयोग गरी पन्छाएपछि सडक सञ्चालनमा आएको हो । पहिरो हटाउन सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो।
सडक अवरुद्ध भएपछि काठमाडौँ र नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।
पहिरो हटाएपछि करिब १७ घण्टादेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।