मुस्ताङ उत्खननको नयाँ निष्कर्ष: के भेट्यो फ्रान्सेली-नेपाली पुरातात्विक मिसनले?

राजेन्द्र भट्ट

काठमाडौं-  नेपालको उच्च हिमाली क्षेत्र मुस्ताङको प्राचीन इतिहास, मानव बस्तीको क्रमिक विकास, र प्रागैतिहासिक कालदेखिको अन्तर-सांस्कृतिक तथा व्यापारिक सम्बन्धबारे वैज्ञानिक तथ्यहरू सार्वजनिक भएका छन्। ललितपुरको अलायन्स फ्रान्सेलीमा आयोजित ‘न्यू इनसाइट्स इन्टु मुस्ताङ्स पास्ट’ (New Insights into Mustang’s Past) शीर्षकको विशेष पुरातात्विक गोष्ठीमा ‘फ्रान्सेली-नेपाली पुरातात्विक मिसन (MAFNAM)’ का शोधकर्ताहरू तथा नेपाल सरकारको पुरातत्व विभागका अधिकारीहरूले सन् २०२३ देखि २०२६ सम्म मुस्ताङका विभिन्न उचाइहरूमा गरिएका चारवटा चरणबद्ध स्थलगत उत्खनन (Field Campaigns) का प्रारम्भिक निष्कर्षहरू र प्राविधिक विवरणहरू प्रस्तुत गरे।

कार्यक्रममा मुख्य वक्ताका रूपमा सहभागी फ्रान्सेली तथा नेपाली पुरातत्वविद्हरू मारियोन पोक्स (Marion Poux), समारा ब्रोग्लिया डे मौरा (Samara Broglia de Moura) र पुरातत्व विभागका प्रमुख पुरातात्विक अधिकृत भास्कर ज्ञवालीले मुस्ताङ  भौगोलिक रूपमा दुर्गम हिमाली क्षेत्र मात्र नभई प्राचीन कालदेखि नै तिब्बत, हिमाली उपत्यकाहरू र दक्षिण एसियाली भूभाग जोड्ने मुख्य व्यापारिक, धार्मिक तथा सांस्कृतिक सञ्जाल रहेको वैज्ञानिक प्रमाण प्रस्तुत गरे।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

फ्रान्सेली-नेपाली मिसनको खोज: क्या क्ये गाङ, गारब जोङ र व्यापारिक सञ्जाल

‘MAFNAM’ परियोजनाकी निर्देशक समारा ब्रोग्लिया र उपनिर्देशक मारियोन पोक्सले सन् २०२३ मा चार वर्षका लागि क्यालिफोर्निया विश्वविद्यालयसँगको सम्झौता (MoU) अन्तर्गत सुरु भएको यो अनुसन्धान सन् २०२७ देखि पुरातत्व विभागसँग प्रत्यक्ष सम्झौता गरी नवीकरण गरिने जानकारी दिए।

५० प्रतिशत फ्रान्सेली परराष्ट्र मन्त्रालय र बाँकी ५० प्रतिशत वैदेशिक संस्थाहरू (Gerda Henkel, Eveha International) को बजेटमा सञ्चालित यो मिसनको मुख्य उद्देश्य उच्च हिमाली क्षेत्रको जनसांख्यिकीय परिवर्तन, भवन निर्माण शैली, मृद्भाण्ड (Ceramics) का आधारमा कालक्रम निर्धारण र व्यापारिक सम्बन्ध अध्ययन गर्नु हो।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

ब्रोग्लिया  र पोक्सले संयुक्त रुपमा साझा गरेको अध्ययनको प्राप्तिअनुसार,  लो मान्थाङभन्दा १.५ कि.मी. पूर्वमा रहेको ‘क्या क्ये गाङ’ बस्तीको स्थापना ८-औँ शताब्दीको उत्तरार्धमा भएको, १२-औँ र १५-औँ शताब्दीमा मर्मत गरिएको र १६-औँ शताब्दीतिर छाडिएको पाइएको छ, जुन तल्लो मुस्ताङको एक प्रभावशाली आभिजात्य परिवारसँग जोडिएको छ। यसैगरि, फल्याक क्षेत्रको डाक जोङ १७-औँ शताब्दीको भए पनि त्यहाँ फेला परेका पुराना मृद्भाण्डले प्राचीन मानव बस्तीको सङ्केत गर्छन् भने गारब जोङ १७-औँ शताब्दीको मध्यतिर जुम्लासँगको युद्धका क्रममा घेराबन्दीमा परी नष्ट भएको हुन् सक्ने आफ्नो अध्ययनले देखाएको उनीहरूले बताए।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

यस्तै, फल्याक र खिङ्गामा भेटिएका ८-औँ देखि १५-औँ शताब्दीका माटोका भाँडाहरू भारतको लद्दाख र स्पिती उपत्यकाका बौद्ध स्थलहरूसँग मेल खाने भएकाले यसले हिमाली क्षेत्रमा बृहत् अन्तर-सांस्कृतिक आदानप्रदान रहेको पुष्टि गर्ने उनीहरूले बताए।

आगामी दिनमा टोलीले पूर्व-पश्चिम व्यापारिक मार्गको अध्ययन (हुम्ला, मनाङ लगायत क्षेत्र) र स्थानीय समुदाय तथा विद्यार्थीलाई सहभागी गराउने योजना (पार्टीसिपेनरी आर्कियोलोजी) समेत बनाएको बताएको छ।

मुस्ताङमा कार्यरत यस टोली, युनिभर्सिटी अफ क्यालिफोर्निया र नेपाल सरकार, पुरातत्व विभाग (DoA) बीच भएको समझदारी पत्र (MoU) अन्तर्गत नै रहेर स्थलगत कार्य गरिरहेको हो। यस टोलीले हाल फ्रान्सेली दूतावासमार्फत आफ्ना अनुसन्धान प्रक्रियाहरू अघि बढाइरहेका छन्।

धार्मिक अफवाह र अवैध गतिविधि संरक्षणका मुख्य चुनौती: भास्कर ज्ञवाली

पुरातात्विक स्थलहरूको इन्भेन्ट्री (सूचीकरण) र संरक्षण गर्ने कार्यमा जोड दिँदै नेपाल सरकारको पुरातत्व विभागका प्रमुख पुरातात्विक अधिकृत भास्कर ज्ञवालीले अध्ययन टोलीप्रति धन्यवाद व्यक्त  गर्दै  मुस्ताङ क्षेत्रमा भएको पुरातात्त्विक उत्खनन र अध्ययनका बारेमा प्रकाश पारेका थिए।

मुस्ताङको ऐतिहासिक अनुसन्धानको पृष्ठभूमिबारे चर्चा गर्दै उनले सन् १९५२ मा जी. तुच्चीले कालीगण्डकी हुँदै गुफा प्रणालीको प्रारम्भिक अभिलेखीकरण गरेको, सन् १९८३ मा डा. हर्का गुरुङले थप तथ्यांक संकलन गरेको र सन् १९८६ मा डी. शुहको टोलीले मुक्तिनाथ उपत्यकाका गुफाहरूको पहिलो पटक रेडियो-कार्बन डेटिङ गरी प्रागैतिहासिक कालकै भएको पुष्टि गरेको स्मरण गराए।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

साथै, सन् १९८५ मा डि.एन. तिवारीले चोखोपानीबाट इ.पू. १२-औँ देखि ८-औँ शताब्दीसम्मका महापाषाणकालीन अवशेषहरू (जसमा माटोका भाँडा, तामा तथा काँसका कङ्गन, धातुका औजार, शङ्ख र हड्डीका गहना थिए) संकलन गरेको प्रसङ्ग पनि उनले प्रस्तुत गरे। विभागले मुस्ताङको चोखोपानी क्षेत्रका गरेका अध्ययनहरूबाट भेटिएका महत्त्वपूर्ण सामग्रीहरू हाल कपिलवस्तु सङ्ग्रहालयको प्रदर्शनी कक्षमा राखिएको समेत उनले जानकारी दिए।

पुरातत्त्व विभागले पछिल्लो समय गरेका महत्त्वपूर्ण पुरातात्त्विक उत्खनन कार्यको नेतृत्व गरेका ज्ञवालीले समुद्र सतहदेखि २,७४० मिटरदेखि ४,२०० मिटरसम्म रहेका यी सम्पदाहरू प्राकृतिक भूक्षय, भूकम्प, अवैध उत्खनन, कोराला नाकासम्म जाने चौडा सडक निर्माण र आधुनिक निर्माणका कारण जोखिममा परेको उल्लेख गर्दै उनले जिआइएस म्यापिङ, थ्रीडी डिजिटल अभिलेखीकरण, ड्रोन सर्भे, जोखिम नक्साङ्कन र स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा आधारित संरक्षण नीति आवश्यक रहेको औंल्याए।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

ज्ञवालीले आफ्नो २० वर्षभन्दा बढीको आफ्नो पुरातात्विक अनुभवका आधारमा वैज्ञानिक उत्खननमा देखा परेका व्यावहारिक तथा सामाजिक चुनौतीहरूमाथि समेत प्रकाश पारेका थिए। पुरातात्विक अध्ययन तथा उत्खनन कार्यमा वैज्ञानिक अध्ययनभन्दा रुढिवादी धारणा चुनौतीका रूपमा देखा परेको ज्ञवालीले बताए। स्थानीय तह र कतिपय पुरातत्वका जानकार रहेका प्राध्यापकहरूले समेत वैज्ञानिक उत्खननलाई धार्मिक आस्थासँग जोडेर नकारात्मक अफवाह फैलाउने परिपाटी समेत देखिएको उनले उल्लेख गरे। 

यसैगरी, सहभागीको प्रश्नको जवाफ दिने क्रममा, मुस्ताङ क्षेत्रको पुरातात्विक तथा सांस्कृतिक महत्त्वका कारण अन्तर्राष्ट्रिय समुदायको ठूलो चासो रहेको उल्लेख गर्दै ज्ञवालीले सो क्षेत्रमा हुन सक्ने सम्भावित हानिकारक र अवैध गतिविधि (Artefact Looting) माथि पुरातत्व विभागले कडा निगरानी राखिरहेको स्पष्ट पारे।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

प्राज्ञिक बहस: त्रिविका विद्यार्थीहरूको चासो, प्रश्नोत्तर

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि), इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका दोस्रो सेमेस्टरका विद्यार्थीहरूको उप-प्राध्यापक डा. अभिजित थापाको संयोजन तथा नेतृत्वमा उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरू र पुरातात्विक क्षेत्रमा चासो राख्ने अनुसन्धाताहरूको उपस्थिति थियो।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg
मुस्ताङको पुरातात्विक अध्ययनबारे आयोजित कार्यक्रममा फ्रान्सेली शोधकर्ताहरूका साथ पुरातत्व विभागका प्रमुख पुरातात्विक अधिकृत भास्कर ज्ञवाली, त्रिवि इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका उप-प्राध्यापक डा. अभिजित थापा र विद्यार्थीहरू।

प-प्राध्यापक डा. अभिजित थापाले अन्तरक्रियाका क्रममा दुईवटा महत्त्वपूर्ण प्राज्ञिक प्रश्न अघि सारेका थिए। पहिलो प्रश्नका रूपमा उनले शोधकर्ता फिडेल देवकोटाले मुस्ताङ क्षेत्रमा अध्ययन गरेका पेट्रोग्लिफ्स (Petroglyphs – प्राचीन चट्टानमा कुँदिएका कला/चित्र) र हालको अनुसन्धानका क्रममा फेला परेका पेट्रोग्लिफ्सहरूबीच के-कस्तो सम्बन्ध वा निरन्तरता रहेको छ भनी जिज्ञासा राखेका थिए।

त्यसैगरी दोस्रो प्रश्नका रूपमा, ‘उच्च हिमाली पुरातत्त्व’ (High-Altitude Archaeology) मा काम गर्दाका विशिष्ट प्राविधिक र भौतिक चुनौतीहरूबारे चर्चा गर्दै उनले मुस्ताङका साना-साना गुफाहरूभित्र निहुरिएर वा सुतेर गर्नुपर्ने जटिल उत्खननको अनुभव, त्यसक्रममा अपनाइने प्रविधि तथा सामग्रीहरू र सम्भावित प्राविधिक जटिलता वा ‘लुपहोल्स’हरूबारे विद्यार्थीहरूले विस्तृत रूपमा जान्न पाउँदा अध्ययनमा ठूलो सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

त्रिविको संस्कृति विभागका  विद्यार्थी क्रिपेन्द्र अमात्यले ४,००० मिटरभन्दा माथिको अत्यधिक उचाइमा प्राचीन मानव बस्तीहरू स्थापना हुनु र मानिसहरू त्यहाँ बस्नुका मुख्य कारणहरू (सुरक्षा, व्यापारिक मार्ग, नुन वा जलवायु परिवर्तन) के-कस्ता थिए भनी प्रश्न गरे।

कार्यक्रमको खुला छलफलका क्रममा हिमाली क्षेत्रमा गुरु पद्मसम्भव, प्राचीन बोन धर्म र बुद्ध धर्मको विस्तार तथा तिनको सांस्कृतिक प्रभावबारे समेत गहन बहस भएको थियो।

Mustang_Archeology_Program_Alliance_Francaise_Kathmandu.jpg

फ्रान्सेली अनुसन्धानकर्ताहरूले मुस्ताङ क्षेत्रमा गरिने आगामी अध्ययन, उत्खनन र अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूसँग प्रत्यक्ष प्राज्ञिक सहकार्य गर्न आफूहरू पूर्ण रूपमा इच्छुक र तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित खबर

सिफारिस