फेक रेस्क्युधन्दा गर्नेलाई प्रचण्डको प्रहारः ‘अतिथि देवः होइन अतिथि दुहुँने गाई हो भनेजस्तो गर्ने ?’

दियो पोस्ट  

काठमाडौं, भदौ २० । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन क्षेत्र भित्रका विकृतिबारे कडा टिप्पणी गरेका छन् ।

ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोशियशन अफ नेपाल ‘टान’को ४१ औँ बार्षिक साधारण सभालाई संवोधन गर्ने क्रममा उनले ट्रेकिङ क्षेत्रमा डरलाग्दो विकृति रहेको औँल्याएका हुन् ।

‘यदाकदा यस क्षेत्रसँग अन्तरक्रिया गर्दै जाँदा मैले बुझेको सुनेको चाहीँ केही घटनाहरु नकारात्मक पनि हुने गरेका छन् । हामीले अतिथि देवोः भवः भन्ने मन्त्र त भन्छौँ । कहिले काँही अतिथि देवो होइन अतिथि दुहुँने गाई हो भने जस्तो गर्यौं । भएभरको एकैचोटी दुहुन खोज्ने र बच्चाहरुको लागि छोड्दै नछोड्ने ?,’ उनले भने,‘अनि सुनको अण्डा दिने कुखुरोलाई भित्र टन्नै अन्डा होला भनेर कुखुरै काटिदिने ? यस्ता पनि एकाध घटनाहरु सुनिन आएका छन् ।’

पर्यटन क्षेत्रमा पछिल्लो समय फेक रेस्क्यु ‘फर्जी उद्दारको डरलाग्दो धन्दा हुने गरेको थियो । सोही धन्दा गर्ने व्यावसायीलाई प्रचण्डले टिप्पणी गरेको हुनसक्ने आशंका गरिएको छ ।

उनले पर्यटन व्यावसाय सुधार्न पनि व्यावसायीकै हात हुने बताए । ‘तपाईंहरुले गरेको कामबाट तपाईंहरु नै लाभान्भित हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन । राज्यले तपाईंहरुका निम्ति राम्रा वातारण बनाइदिनुपर्छ, राम्रा नीति नियम बनाइदिनुपर्छ । भौतिक संरचनाहरु बनाउनुपर्छ भन्ने कुरामा दुई मत छै । म पनि तपाईंहरुको साथमा छु । तर हामीले आफ्नो कर्तव्य पनि पुरा गर्नुपर्छ । यदि एकैचोटी धेरै कमाउन खोज्दा दुर्घटना बाहेक अरु केही हुनेछैन,’ उनले भने,‘तपाईं दिगो तरिकाले काम गर्नु भयो भने कमाउनुपनि हुन्छ तपाईंले सन्देश पनि दिनुहुन्छ । नेपाल राष्ट्रलाई सेवा पनि गरिराख्नु भएको हुन्छ । तर एकैचोटी गर्दा त्यसको परिणती घातक भएर निस्कन्छ ।’


उनले आफूहरु उच्च तहको राजनीतिक नेतृत्व पनि सुशासनमा बस्नु पर्ने बताउँदै पर्यटन व्यावसायीलाई पनि सुशासनमा बस्नुपर्ने बताए ।

‘हामी राजनीतिकर्मीहरुले पनि सुशासनका निम्ती आफैबाट शुरु गर्न सकिएन भने माथिबाट नै सुशासनको प्रयासलाई इमानदारीता साथ अघि बढाउन सकिएन भने तपाईंहरुले टुरिजम सेक्टरमा आफ्नो क्षेत्रमा पनि त्यस्तो प्रवृति स्थापित गर्न सक्नुभएन भने नेपाल राष्ट्रलाई हामी जहाँ लान चाहेका छौँ जसरी लान चाहेका छौँ त्यसरी लान सकिँदैन,’ उनले भने,‘हामी सबैले राष्ट्र प्रति सबैभन्दा पहिले गर्व गरौँ । राष्ट्रप्रति प्रेम गरौँ । राष्ट्रको समृद्धि प्रतिष्ठा र पहिचानको निम्ती पहिलो काम गरौँ । हामीले आफू लाभान्भित हुने कुरालाई सेवा सँग जोडौँ । सेवा भावनाले आउने लाभबाट जीवन भर आनन्द मात्रै प्राप्त हुन्छ । तपार्ईं सेवा भाव भन्दा बाहिर अर्को भावनाबाट गर्नु भयो भने जीवनमा शान्ति र चयन चाहीँ त्यसले दिँदैन । आनन्दानूभुति त्यसले दिँदैन ।’

TATA ADD