काठमाडौं उत्रिएको पहिलो विमान: जो धान बोक्ने प्रयासका लागि बोलाइएको थियो

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन १२, २०७८ | १९:४७:२९

 

 

तत्कालीन प्रधानमन्त्री श्री ३ मोहनशम्शेर जंगबहादुर राणाको अनुरोधमा सो विमान काठमाडौंमा उत्रेको थियो । काठमाडौंमा वर्षापछिको खाद्य र अन्य बन्दोबस्तीका सामग्रीका अभाव बढेपछि मोहनशम्शेरले विमानबाट खाद्यान्न भित्र्याउन भारतीय राजदूतलाई भनेका थिए ।

तत्कालीन भारतीय राजदूत सुरजीतसिंह मजीठियालाई लेखेको पत्रमा भनिएको थियो- ‘डाकोटा लागि अवतरणस्थल चाहिने र यो  तयार हुन कठिन हुने थाह पाएपछि वर्षापछि काठमाडौंमा धान ल्याउनका लागि साना विमान ढुवानीका विमान प्रयोग गर्न सकिन्छ कि भन्ने मैले सोचिरहेको छु । यस विषयमा तपाईले राय दिनु भएमा म आभारी हुनेछु, यदि प्रस्ताव योग्य लागेमा के तपाईं यसका लागि तयारी गर्नसक्नु हुन्छ ? आवश्यक व्यवस्था, गुणास्तर, लागत र आवश्यक सूचनासहितको प्रस्ताव म कहाँ पठाइदिनु होला ।’ भारतीय राजदूत सिंह यो प्रस्तावबाट उत्साहित भए र आफ्ना भतिजा दलीपसिंहलाई नेपाल उडानका लागि ७ जुन १९४८ मा पत्र पठाए । उनले पत्रमा काठमाडौंको भूगोलका पूरै वर्णन गरेका छन् ।

पुनः १६ जुन १९४८ मा लेखिएको पत्रमा नक्शासहित कोरेर पशुपतिनाथ मन्दिरको छेउको खाली गौचरणमा कसरी अवतरण गर्ने भन्ने लेखेका थिए । पछि अर्को पत्रमा प्रधानमन्त्री मोहनशम्शेरसँग भेटेर उडानका समय निश्चित भएको विस्तृत विवरण उल्लेख गर्दै मुजफ्फपुरबाट काठमाडौंसम्म आइपुग्न धेरै उचाइमा पनि उड्नु नपर्ने लेखे । राजदूत सुरजीतसिंह आफै पनि फाइटर जहाजका पाइलट रहिसकेका कारणले उनले प्राविधिक पक्षको सूचनासमेत दिन सकेका थिए । १ सय १ वर्षमा टेकेका भारतका पुराना फाइटर विमान चालक दलीपसिंह मजीठियाले पुराना कुरा सम्झँदै भनेका छन्- ‘मेरा काका (सुरजीतसिंह मजीठिया) राजदूत हुनुहुन्थ्यो र उहाँ मेरा लागि प्रधानमन्त्रीसँग भेट्न निकै उत्सुक हुनुहुन्थ्यो ।’

काठमाडौं अवतरणका स्मरण गर्दै दलीपसिंह भन्छन्- ‘(अवतरण) अगाडि मैले राम्ररी हेरेँ, अवतरणका लागि जमिनमा केही पनि सहायता थिएन, मेरा काकाले मेरा लागि विन्डस्क्रिन लगाइदिनु भएको थियो, मसँग यतिमात्रै थियो ।’ उनका अनुसार दोस्रो प्रयासमा मात्रै विमान अवरण भएको थियो । ‘पहिलो प्रयास त्यति राम्रो भएन, किनकी अप्रिलका अन्त्यमा काठमाडौंमा बाक्लो बादल थियो, तर दोस्रो प्रयासमा काठमाडौंको वरिपरि चक्कर लगाएँ र अवतरण गरेँ ।’ मुजफ्फपुरबाट सीधै गौचरणस्थित घाँसे मैदानमा विमान सकुशल अवतरण भयो । ‘सौभाग्यबस जमिनमा कोही पनि थिएन । मेरा काका आएर मलाई उठाउनुभयो, ’ मजीठियाले भनेका छन् ।


यसअघि राजा त्रिभुवनलाई पहिलोपटक हृदयघात हुँदा उपचारका लागि नेपाल आएका बेलायती डाक्टर कर्णेल डनहम ह्वाइट स्वदेश फर्कने क्रममा काठमाडौंबाट पैदल तथा रेलमा सिमरा पुगेपछि उनलाई लिन वि.सं. १९९९ भदौमा सिमराको घाँसे मैदानमा सानो तीन सिटको पुश मथ (Push Moth) विमान अवतरण गरेको थियो ।

नेपाली आकाशमा वि.सं.१९८९ चैत्र २१ गते दुइ युद्धक विमान Westland PV-3 र Westland PV-6 स्वरूप परिवर्तन गरि उडाइयो जुन सर्वोच्च शिखर सगरमाथाको चक्कर काट्न प्रयोग भएको थियो ।

सर्वोच्च शिखर सगरमाथा माथिको आकाशमा Westland PV-3 र Westland PV-6

यसपछि दोश्रो विमान पटना विश्व विद्यालयका भि.सी. चन्द्रेश्वरप्रसाद नारायण सिंह नेपालको लागि दोश्रो भारतीय राजदुत नियुक्त भएपछि महावीरशम्शेर राणाको निजी विमान कम्पनी हिमालयन एभिएशनको डाकोटा चार्टर्ड गरी वि.सं. २००६ को जेठमा काठमाडौं आएका थिए । यसपछि वि.सं. २००६ फागुन २२ मा मोहनशम्शेरको नातिनीको विवाह समारोहमा जम्मु काश्मिरका युवराज करणसिंह जन्तीको साथ चार्टर्ड गरिएको डाकोटामा काठमाडौं आएका थिए ।

त्यसपछि काठमाडौं विमानस्थलबाट वि.सं. २००७ असोज २६ बाट व्यवसायिक उडानको शुरूवात भयो ।

गौचरणमा पहिलो ब्यबसायिक विमान अवतरण हुँदा सेनाको टुकडीले बाजा गाजा सहित स्वागत गर्दै । 

पटनाबाट यात्रुहरू बोकेर पहिलो विमान काठमाडौं गौचरणमा अवतरित भयो । वि.सं. २००७ को कार्तिक २२ मा नेपाली आकाशमा एकैचोटी चारवटा विमान देखियो । मोहनशम्शेरले केहीदिन देखी लगाएको एयरस्ट्राईकका बाबजुदपनि भारतिय सेनाको विमानले राजपरिवारलाई रेस्क्यू गरेर नयाँदिल्ली पुर्यायो ।

वि.सं. २०१२ मा गौचरण हवाई अड्डाको नाम त्रिभुवन विमानस्थल भयो । वि.सं २०१५ असारमा अमेरिकी सरकारले दोश्रो विश्व युद्धपछि उपयोग विहिन भएका ३ वटा डकोटा विमान यातायात मन्त्री गणेशमान सिंहलाई हस्तान्तरण गरेपछि शाही नेपाल वायुसेवा निगमको जन्म र आफ्नै सरकारी स्वामित्वको विमान उडाउन सफल भयो । वि.सं २०२३ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट बोइङको सफल उडान परिक्षण भयो

वि.सं. २०४४ साल असोज २५ गते ब्रिटिस एयरक्राफ्ट करपोरेसनको कनकर्ड जहाज काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सम्बन्धित खबर