काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बढ्दो अत्यधिक गर्मीलाई ध्यानमा राख्दै विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले सोमबारदेखि लागू हुने गरी सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गर्ने जनाएको हो।
पश्चिम तराई क्षेत्रमा पछिल्ला केही दिनदेखि तापक्रम अत्यधिक बढ्दै गएको छ। यहाँ अधिकतम तापक्रम करिब ४० डिग्री सेल्सियस आसपास पुगेको छ, जसले जनजीवन प्रभावित बनाएको छ। विशेषगरी विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।
नगर प्रमुख हेमराज ओझाद्वारा जारी सूचनामा उक्त बिदा विद्यार्थीहरूको सञ्चित बिदाबाट कट्टा हुने उल्लेख गरिएको छ। उनले अत्यधिक गर्मीका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न कठिन भइरहेको भन्दै तत्कालका लागि बिदा दिनु आवश्यक भएको बताए।
यसैबीच, लगातारको गर्मी र लूका कारण पश्चिम तराईमा दैनिक जीवनसमेत प्रभावित भएको छ। स्वास्थ्यकर्मीहरूले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्।