बाजुरा लाम्पाटा घटनाको छानबिन र न्यायको माग गर्दै कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका-३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ ।

जेठ ८ गते हिमाली युवा क्लब, स्थानीय राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै क्लबले आइतबारदेखि करिडोर पुनः बन्द गरेको हो ।

क्लबले घटनास्थलको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का तयार गर्न, घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न तथा स्थानीय र पर्यटकबाट लुटिएको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

त्यसैगरी कुटपिटबाट घाइते भएका स्थानीयको उपचार खर्च बेहोर्न, विस्थापित परिवारको पुनःस्थापना गरी सुरक्षाको प्रत्याभूति दिलाउन तथा च्याचौरमा निर्माणाधीन प्रहरी चौकी भवनमा क्षति पुगेका सामग्रीको क्षतिपूर्ति उपलब्ध गराई निर्माण कार्य तत्काल अघि बढाउनुपर्ने माग पनि गरिएको छ ।

करिडोर बन्द भएपछि सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।