काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। अख्तियारले नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ निवासी शिक्षक कृष्णबहादुर खन्नाविरुद्ध आरोपपत्र दर्ता गरेको हो।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार खन्नाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाइरहेको भन्ने उजुरीपछि अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनले झुट्टा विवरण पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगका अनुसार खन्नाले नवलपरासीस्थित श्री भवानी माध्यमिक विद्यालयमा २०५९ साल मंसिर १ गतेदेखि लागू हुने गरी अस्थायी प्राथमिक तह शिक्षकको नियुक्ति लिन तथा २०७५ चैत २९ गतेदेखि सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पद प्राप्त गर्न भारतीय बोर्डको नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेका थिए।
अनुसन्धानबाट उनले भारतको ‘नागाल्यान्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमा’ बाट जारी भएको भनिएको प्रवेशपत्र, लब्धाङ्क पत्र तथा स्थानान्तरण प्रमाणपत्रसमेत झुट्टा रूपमा पेस गरेको खुलेको अख्तियारले जनाएको छ।
हाल विनयी त्रिवेणी गाउँपालिका-२ स्थित मणिसङ्गम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत खन्नाले उक्त पदबाट लाभ तथा सुविधा समेत लिइरहेको आयोगको दाबी छ।
अख्तियारले यस घटनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै ऐनको दफा १६(१) बमोजिम कैद तथा जरिबानाको मागसहित विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।